
सुर्खेत- एक जना सेवाग्राही कर्णाली प्रदेशको सीटीईभीटीको प्रदेश कार्यालयमा गए । उनले कार्यालयले माग गरेका विभिन्न क्षेत्रका तालिमका लागि फाराम बुझाउनु थियो तर कार्यालयमा न त प्रमुख नै भेटिए, न त निमित्त प्रमुख नै । उनी रित्तो हात घर फर्किनुपर्यो । ‘कार्यालयमा गएर काम गर्ने अनि आजै घर फर्किने योजना थियो,’ नाम नबताउने शर्तमा ती सेवाग्राहीले भने, ‘कार्यालयमा एक जना सुब्बा मात्रै थिए । तीन जना कार्यालय सहयोगी थिए । सुब्बालाई निमित्त दिइएको रहेनछ ।’
कार्यालय प्रमुख हुन् भीमकान्त लामिछाने । उनी १० गतेदेखि सुर्खेत बाहिर छन् । तालिममा जाने भनेर १४ गतेसम्मको बिदा लिएपनि लामिछाने आइतवार दिउँसो साढे दुई बजेसम्म उपस्थित थिएनन् ।
‘सूचना लिनको लागि भनेर म कार्यालयमा गएको थिएँ,’ पत्रकार धर्मराज जिसी भन्छन्, ‘तर त्यहाँ रहेका नायब सुब्बा बसन्त आचार्यले आफू भर्खर आएको र सुचना अधिकारी पनि नतोकिएको हुँदा कार्यालयको सूचनाबारे जानकारी नभएको बताए ।’ सामान्यतया: सरकारी कार्यालयहरूमा कार्यालय प्रमुख बाहिर जाँदा अर्को कर्मचारीलाई निमित्त दिनुपर्ने हुन्छ । कार्यालयमा सेवा विहीन बनाएर कसैले पनि जान नपाउने कानूनी व्यवस्था पनि छ । यति मात्रै होइन नागरिकले कार्यालय समयमा चाहेको सूचना माग गर्न पाउने अधिकार पनि छ तर पत्रकार जिसी कार्यालय जाँदा सूचना पाएनन् ।
कार्यालयमा एक जना निर्देशक, एक जना उपनिर्देशक, एक जना प्राविधिक अधिकृत तथा एक जना नायब सुब्बाको स्वीकृत दरबन्दी छ । अहिले अधिकृत नन्द चौलागाई तालिमको सिलसिलामा बाहिर गएका छन् भने उपनिर्देशक कार्यालयमा आएका छैनन् ।
निर्देशक लामिछानेले भने आफू बिरामी भएका कारण बाहिर गएको बताए । उनले कसैलाई निमित्त नदिएर आएको स्वीकार्दै सोमवार मात्रै कार्यालयमा हाजिर हुनेगरी आउन लागेको जानकारी दिए । ‘वरिष्ठताको आधारमा सूचना अधिकारी वा निमित्त प्रमुख दिनुपर्ने हो,’ उनले भने, ‘नायब सुब्बा मात्रै कार्यालयमा भएका कारण मैले नदिएको हो । अन्य काम त उनले गरिरहनु भएकै छ ।’