
विराटनगर- प्रदेशसभा सचिवालयले प्रदेशको नाम र स्थायी राजधानीका लागि प्रस्ताव आह्वान गरेको छ ।
आइतवार बसेको १ नम्बर प्रदेशसभा बैठकमा सभामुख प्रदिपकुमार भण्डारीले प्रदेश सभा सचिवालयलाई प्रदेशको स्थायी राजधानी र नामको प्रस्ताव राख्ने प्रस्ताव आह्वान गर्न निर्देशन दिएका हुन् ।
प्रदेशसभा सचिवालयले वैशाख १९ गते भित्र प्रदेशको स्थायी राजधानी र नाम विषयको प्रस्ताव ल्याउन आह्वान गरेको हो । प्रदेशसभा संचालन संशोधन कार्यविधिले व्यवस्था गरेअनुसार प्रदेश सांसदहरु मध्येबाट २ जनाको प्रस्तावमा प्रदेशको नाम र राजधानीको प्रस्ताव ल्याउन सक्नेछन् ।
यसरी आएको प्रस्तावलाई दुईतिहाइले पारित गर्नुपर्ने व्यवस्था छ । प्रदेश १ मा दुईतिहाइ नेकपाको मात्र भएपनि सर्व सहमतिका आधारमा प्रदेशको नाम र राजधानीको विषय समेटेर लैजाने पक्षमा पदेश सरकार लागेको छ ।