१७ असार २०८३, बुधबार

बनारसमा मोदीविरुद्ध किन उठिनन् प्रियंका गान्धी ?

बैशाख १६, २०७६
बनारसमा मोदीविरुद्ध किन उठिनन् प्रियंका गान्धी ?

काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफूलाई वाराणसीपुत्र भन्छन् । उता कांग्रेस महासचिव प्रियंका गान्धी फूलपुर जाँदा उनको स्वागत गंगाकी छोरी भनेर गरिन्छ । 

दुवैले एकअर्कामाथि चुनावी सभाहरूमा शाब्दिक आक्रमण गर्ने गरेका छन् । त्यसैले उनीहरू चुनावी प्रतिस्पर्धी बन्छन् कि भनी आँकलन गरिएको थियो । 

तर बिहीवार कांग्रेसले बनारसका लागि आफ्नो उम्मेदवार घोषणा गरेर सबै अनुमानमा पूर्णविराम लगायो । पार्टीले मोदीविरुद्ध प्रियंकालाई नभई स्थानीय नेता तथा पूर्वविधायक अजय रायलाई उम्मेदवार बनायो । 

पार्टीका कार्यकर्ताहरू प्रियंकाले मोदीलाई बनारसमा कडा चुनौती दिए हुन्थ्यो भन्ने आश गरेर बसेका थिए । प्रियंका आफैंले पनि यसको सम्भावनालाई नकारेकी थिइनन् । बनारसमा उनको भव्य स्वागत पनि भएको हो । तैपनि कांग्रेसले उनलाई त्यहाँ उम्मेदवार बनाएन । आखिर किन ? 

जवाफमा वरिष्ठ पत्रकार नवीन जोशी भन्छन्, ‘प्रियंकालाई उम्मेदवार बनाउने प्रश्न सनसनी फैलाउनका लागि मात्र थियो, यो कुनै गम्भीर सवाल नै थिएन । यो कुरा पहिले नै बुझ्नुपर्थ्यो ।’

‘प्रियंका गान्धीले चुनावी राजनीतिको आरम्भ मोदीवरुद्ध लडेर गर्न चाहने कुरै थिएन किनकि उनले जित्ने सम्भावना अत्यन्तै क्षीण थियो । बरू प्रियंका रायबरेली वा अन्य सीटबाट उठ्न सक्छिन् । बनारसबाट भन्दा पनि रायबरेलीबाट उनी संसद् जाने बाटो सहज हुन्छ ।’

बनारस पूर्वी उत्तर प्रदेशमा पर्छ र उक्त क्षेत्रमा २९ वटा सीट छन् र तीमध्ये २७ मा भाजपा विजयी भएको थियो । 

आमचुनावभन्दा ठीक अघि प्रियंका गान्धी सक्रिय राजनीतिमा आइन् । उनलाई पार्टीमा महासचिवको पद दिइयो र पूर्वी उत्तर प्रदेशको जिम्मेवारी सुम्पिइयो । 

सक्रिय राजनीतिमा आएपछि आफ्नो पहिलो भाषण उनले मोदीको गढ गुजरातमा दिएकी थिइन् । भाषणमा उनले मोदीलाई नै निशाना बनाएकी थिइन् । 

नरेन्द्र मोदीको विरोधबाट राजनीति शुरू गरेकी प्रियंकालाई पार्टीले किन मोदीविरुद्ध चुनाव लड्न नदिएको होला भन्ने विषयमा वरिष्ठ पत्रकार जतिन गान्धी भन्छन्, ‘भाषण गर्नु वा बयान दिनु र चुनाव लड्नु फरक कुरा हुन् । चुनाव लड्नका लागि धरातलीय स्तरमा कार्यकर्ताको ठूलो जमात हुनुपर्छ । बनारसमा कांग्रेससँग कार्यकर्ताको फौन छैन ।’

प्रियंकालाई बनारसमा लड्न नदिइनुमा समाजवादी पार्टी र बहुजन समाज पार्टीबीचको गठबन्धन पनि एक कारण रहेको जतिन गान्धीको मान्यता छ । उनी भन्छन्, ‘सपाले शालिनी यादवलाई त्यहाँ उठाउने निर्णय लिएर त्यसको संकेत दिइसकेको थियो । पहिला त महागठबन्धनले त्यहाँ उम्मेदवार नै नउठाउने भनिरहेको थियो तर पछि उक्त गठबन्धन कांग्रेसका लागि मैदान नछोड्ने स्पष्ट भएपछि प्रियंकाले चुनाव लड्नुको औचित्य रहेन । उनी उठेकी भए दोस्रो हुन समेत गाह्रो पर्ने थियो । त्यहाँको समीकरणमा अहिले कांग्रेसभन्दा महागठबन्धन अगाडि छ ।’

सन् २०१४ को लोकसभा चुनावमा कांग्रेस, सपा र बसपाबाहेक आम आदमी पार्टीका नेता अरविन्द केजरीवाल पनि मोदीविरुद्ध उठेका थिए । 

त्यतिखेर मोदीले लगभग ५ लाख ८० हजार भोट पाएका थिए भने केजरीवालले दोस्रो स्थानमा रहँदै २ लाख र कांग्रेसका अजय रायले जम्मा ७५ हजार भोट पाएका थिए । 

प्रियंका गान्धी उम्मेदवार बन्दा यो गणित परिवर्तन हुन्थ्यो त भन्ने प्रश्नमा वरिष्ठ पत्रकार नवीन जोशी भन्छन्, ‘प्रियंकालाई बनारसमा उठाइएको भए कांग्रेसलाई निश्चितै फाइदा हुन्थ्यो तर जीत नै चाहिँ हुँदैनथियो । बनारसवरिपरिका क्षेत्र, जौनपुर, मऊ र आजमगढ सीटमा असर देखिन्थ्यो होला तर साना फाइदाका लागि पार्टीले प्रियंका गान्धीका रूपमा ठूलै मूल्य चुकाउनुपर्ने हुन्थ्यो ।’

भविष्यको नेताको राजनीतिक शुरूआत हारबाट होस् भन्ने चाहना कुनै पनि पार्टीको नहुने वरिष्ठ पत्रकार जतिन गान्धीको पनि मान्यता छ । प्रियंकाले पार्टीलाई बलियो बनाउन नसके पनि कार्यकर्तामा जोश भर्न सफल हुने र यसले आगामी चुनावमा कांग्रेसलाई फाइदा पुग्ने जतिन बताउँछन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्