
काठमाडौं – इन्डोनेसियाको पश्चिमी बेङकुलु प्रान्त तथा राजधानी जकार्ता शहरमा आएको बाढी र पहिरोका कारण मर्नेको संख्या सोमवार ३१ पुगेको छ । हराइरहेका १३ जना बेपत्ता भएको विपत् व्यवस्थापन निकायका अधिकारीहरूले जनाएका छन् ।
शुक्रवारदेखि बेङकुलु प्रान्तमा बाढी र पहिरो आएको तर अहिले पानी घटेको छ । तर थप भारी वर्षाको अपेक्षा गरिएको भन्दै अधिकारीहरूले मानिसलाई सचेत रहन आग्रह गरिरहेका छन् ।
बाढी र पहिरोले १८४ घर ध्वस्त पारेपछि १२ हजारभन्दा बढी मानिसले अस्थायी शिविरमा शरण लिइरहेका छन् । बाढीले शिक्षालय तथा सडक, पुल तथा अन्य भौतिक संरचना क्षतिग्रस्त भएका छन् ।
विपतका कारण यातायात संरचना क्षतिग्रस्त भएको छ भने विद्युत् आपूर्ति रोकिएको छ जसका कारण प्रभावित क्षेत्रमा सहायता बाँड्न अवरोध पुगेको राष्ट्रिय विपत व्यवस्थापन निकायका प्रवक्ता सुतोपो पुर्वो नुग्रोहोले बताए ।
‘प्रभावित क्षेत्रहरू पुग्ने सडक क्षतिग्रस्त भएकाले सहायता पु–याउन अप्ठ्यारो परिरहेको छ,’ उनको भनाइ छ ।
‘इन्डोनेसियामा निकै भारी वर्षा हुने सम्भावना रहेकाले मानिसलाई सतर्क अवस्थामा रहन आग्रह गरिन्छ,’ उनले शिन्ह्वा समाचार संस्थालाई बताए ।
एजेन्सी