
काठमाडौं – बलिउड अभिनेता सलमान खान कानून कार्यान्वयन निकाय र प्रेससँग प्रायः द्वन्द्वमा परिरहेका हुन्छन् ।
हालै मुम्बईमा बस्ने एक पत्रकारले सलमानविरुद्ध उजुरी दर्ता गरेर उनले आफूलाई धक्का दिएको र आफ्नो क्यामरा खोसेको आरोप लगाएका छन् ।
एनडीटीभीमा प्रकाशित एक रिपोर्टले पनि सलमानको भिडियो खिच्न खोज्ने एक पत्रकारको मोबाइल फोन खोसिएको बारेमा उजुरी दर्ता भएको पुष्टि गरेको छ ।
अशोक श्यामलाल पाण्डे नामक पत्रकारले उजुरी दर्ता गरेको एनडीटीभीले पुष्टि गरेको हो ।
पाण्डेले आफू र आफ्नो क्यामराम्यान जुहुबाट कान्दिवली गइरहँदा सलमान साइकल चलाइरहेको देखे । उनीहरूले सलमानका अंगरक्षकलाई उनको भिडियो बनाउन मिल्छ कि भनी सोध्दा उनले माने ।
‘हामीहरू मोबाइल फोन झिकेर खिच्न थाल्यौं । सलमान फर्किए र आफ्ना अंगरक्षकलाई इशारा गरे । अनि मोटरसाइकल चढेका अंगरक्षकहरू हामीनजिक आए । मेरो क्यामराम्यानलाई एक अंगरक्षले धकेले र हाम्रो कारलाई पनि बलपूर्वक धक्का दिए । हामीहरू उनीहरूसँग बहस गर्न थाल्यौं । सलमानले साइकल घुमाए र हामीकहाँ आए । उनलाई हामीहरू प्रेसबाट आएको बतायौं । सलमानले मतलब छैन भने । अनि उनले हाम्रो मोबाइल फोन खोसे र हिँडे ।’
प्रहरीलाई यस विषयमा बुझ्न सम्पर्क गर्दा सलमानको अंगरक्षकले पनि अर्को उजुरी हालेर अनुमतिविना भिडियो खिचेको आरोप लगाएको प्रहरीले पुष्टि गरे ।
एजेन्सी