
काठमाडौं – भारतको दिल्लीस्थित फतेहपुर बेरीमा ८ वर्षीय बालकमाथि हत्याको आरोप लागेको छ । ती बालकले छिमेकमा बस्ने डेढ वर्षीय बालकलाई उसकै घरबाट लगेर हत्या गरेको आरोप छ ।
डेढ वर्षको बच्चालाई पहिला नालीमा डुबाएको अनि इँटा र ढुंगाले हानेको बताइएको छ । बच्चाको शव नालीनजिकबाट बरामद गरिएको छ । आरोपित नाबालकलाई जुभेनाइल जस्टिस बोर्डसमक्ष मंगलवार पेश गरिनेछ ।
हत्याको कारण आश्चर्यलाग्दो भएको प्रहरीको भनाइ छ । आरोपित बालकले भने, ‘हत्या गरिएको बच्चाकी दिदीले मेरो भाइलाई थप्पड हानेकी थिइन् । अनि ऊ भुइँमा लडेको थियो ।’
त्यसैको बदला लिनका लागि उसले शनिवार सबेरै डेढ वर्षीय बालकलाई उसकै घरको छतबाट लिएर गयो । त्यतिखेर बालक आमा र दिदीसँग सुतिरहेको थियो । सुस्तरी त्यहाँ पुगेर उसले बच्चालाई उठायो अनि घरनजिकैको नालीमा लगेर डुबायो । उसले बच्चालाई अनेकचोटि नालीमा डुबाइदियो ।
त्यतिले नपुगेर उसले बच्चाका अनेक अंगमा इँटा र ढुंगा हान्यो । अनि बच्चाको लाश त्यहीँ मिल्काएर ऊ हिँड्यो ।
बिहान बच्चाको परिवार उठ्दा उसलाई देखेनन् । अनि उनीहरूले फतेहपुर बेरी थानामा उजुरी दिए । प्रहरीले अनुसन्धान गर्दा छिमेकको आठ वर्षीय बच्चा पनि गायब रहेको पायो ।
दुई नाबालक हराउँदा प्रहरी स्तब्ध भयो । यसैबीच डेढ वर्षीय बच्चाको लाश प्रहरीले भेट्यो । पछि प्रहरीले आठ वर्षीय बालकलाई पनि भेट्यो र उसका कुरा सुनेर छक्क प–यो ।
एजेन्सी