१५ असार २०८३, सोमबार

ट्रकको ठक्करबाट युवतीको मृत्युपछि लम्कीमा तनाव, प्रहरीद्वारा हवाई फायर

बैशाख १७, २०७६
ट्रकको ठक्करबाट युवतीको मृत्युपछि लम्कीमा तनाव, प्रहरीद्वारा हवाई फायर

धनगढी- लम्की चुहा नगरपालिका–१ की १९ वर्षीया सुनिता रावलको विभत्स ढंगले चालकले ट्रक नै ब्याक गराएर ज्यान लिएका छन् । 

लम्की बहुमुखी क्याम्पसमा अध्ययनरत उनी क्याम्पसबाट साइकलमा बिहान करीब ९ बजे घर फर्किरहेकी थिइन् । पछाडिबाट आएको ना ७ ख ९२३३ नम्बरको ट्रकले ठक्कर दिँदा उनी लडिन् । लगत्तै ट्रक चालक सुनिल भण्डारीले ट्रक नै ब्याक गराएर किचेपछि उनको घटना स्थलमानै ज्यान गएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

घटनापछि विद्यार्थी र स्थानीयले यातायात तथा बजार बन्द गराएर प्रर्दशन गरेका छन् । बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म स्थानीयहरूले प्रदर्शन गरेको लम्कीका स्थानीय पत्रकार देवानन्द न्यौपानेले जानकारी गराए ।

आक्रोशित विद्यार्थी र स्थानीयले सो ट्रकमा आगजनीको प्रयास गरेका थिए । सोही क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको हो । यसैबीच प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन लाठी चार्ज गर्नुका साथै १३ सेल अश्रु ग्यास फायर गरेको छ भने ९ राउण्ड हवाई फायर गरेको कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले जनाए । तर स्थानीयले केही थान रबरको गोली समेत प्रहार गरिएको दाबी गरेका छन् ।

झडपमा १३ जना घाइते भएका थिए । रवरको गोली लाग्दा लम्की बहुमुखी क्याम्पसका प्राध्यापक प्रेम मुडभरीको टाउकोमा चोट लागेको छ भने स्थानीयको ढुंगा प्रहारबाट घाइते भएका ७ जना प्रहरीको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ । बाँकी घाइते उपचारपछि फर्केको प्रहरीले जनाएको छ ।

त्यस्तै घटनाबारे बसेको सर्वपक्षीय बैठकबाट ठप्प रहेको बन्द ४ बजेदेखि खुलेको छ । मृतक रावलको शव पोष्ट मार्टमको लागि टीकापुर अस्पताल लगिएको छ भने मृतकका परिवारजनलाई उचित क्षतिपूर्ति दिनुपर्ने र दोषीलाई कानून बमोजिम कडा कारवाही गराउने शर्तमा बन्द खुलाइएको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्