
विराटनगर– प्रदेश नम्बर १ को नाम र राजधानीको विषय टुङ्ग्याउन बसेको नेकपाको प्रदेशस्तरीय बैठक निष्कर्षविहीन बनेको छ ।
सहमति जुटाउने प्रयासस्वरुप नेकपा प्रदेश नम्बर १ को बैठक बधुबार राती अबेरसम्म बसेको थियो । तर विवादकै कारण कुनै पनि निर्णय भने हुन सकेन । यसअघि नेकपा संसदीय दलको बैठकमा पनि यो विषयमा सहमति जुट्न सकेको थिएन ।
दलभित्र सांसदहरुको फरक फरक धारणाका कारण राजधानी र नामाकरणको विषयमा सहमति जुट्न नसकेको हो ।
नेकपा स्रोतका अनुसार विराटनगरको विकल्पको रुपमा इटहरी भन्दापनि धनकुटाको विषय पार्टीको बैठकमा बढी चर्चामा आएको छ ।
पहिलो प्राथमिकतामा विराटनगरनै दल भित्रको छलफलको विषय बनेको तर सांसदहरुको फरक फरक अडानले थप छलफलको बिषय बनेको थियो ।
नेकपाको प्रदेश कमिटी इन्चार्ज भीम आचार्य, सह–इन्चार्ज सावित्रिकुमार काफ्ले, मुख्यमन्त्री शेरधन राई, संयोजक देवराज घिमिरे र सचिव सुरेशकुमार राई तथा केन्द्रीय सदस्य र मन्त्रीहरु सहित बसेको बैठकमा नामको विषयमा मुख्यतः तीन प्रस्तावमाथि छलफल भएको बताइएको छ ।
पहिचानसहितको नाम, बहुपहिचानसहितको नाम र भौगोलिक पहिचान हुने नामको विषयले बैठकमा औपचारिकरुपमा प्रवेश पाएको भएपनि बहुपहिचानको पक्ष बैठक केन्द्रीत भएको एक नेताले बताए ।
भौगोलिक पहिचानमा कोशी प्रदेश र सगरमाथा प्रदेश के राख्ने भन्ने विषयमा केन्द्रीत गरिएको छ । भौगोलिक पहिचानले सबैलाई समेट्ने विश्वाससहित यो विषयमा छलफल बढी केन्द्रीत भएको थियो ।
यस्तै पहिचानको विषयमा लिम्बुवान, किराँत र बहुपहिचानमा किराँत सगरमाथा वा कोशी किराँत भन्ने विषयमा पनि छलफल भएको बताइएको छ ।
नेकपाका प्रदेश संयोजक देवराज घिमिरेले केही दिन देखि नै प्रदेशको विविध विषयमा छलफल भइरहेपनि अहिले चर्चाको विषय प्रदेशको नाम र राजधानी बनेको बताए ।
यसबारे पार्टी भित्र फरक फरक मत आएपछि निर्णयमा पुग्न ढिलाइ भएको उनको भनाई छ ।
बैठकमा सहभागी बहु संख्यक सदस्यहरु तत्काललाई विराटनगर नै राजधानी तोकेर जाने पक्षमा देखिएका छन् ।
नेकपाले बिहिवार अन्य दलसँग पनि प्रदेशको नाम र राजधानीको विषयमा छलफल गर्ने तयारी गरेको छ । त्यसपछि आएको राय र सुझावका आधारमा निर्णयमा पुग्ने नेकपाको योजना छ ।
प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले पार्टी नेतृत्वले केन्द्रीय सदस्यहरुसँग सुझाव लिएको बताए । त्यस क्रममा जनभावना अनुसार निर्णय गरेर जानुपर्ने र सबै पक्षको भावनालाई बुझेर निर्णय होस् भन्ने सुझाव दिएको जानकारी दिए ।
विपक्षीहरुलाई पनि साथमा लिएर जानु पर्ने भएकोले सबैको सल्लाह र राय सुझावको आधारमा निर्णयमा पुगिने उनले बताए ।
सांसदको हस्ताक्षर अभियान
यसैबीच बुधबार बिहानैदेखि विराटनगरलाई राजधानी बनाउन नहुने पक्षमा रहेका सांसदहरुले एक ठाउँमा उभिएर हस्ताक्षर संकलन गरेका छन् । विराटनगर राजधानी हुन नहुने भन्दै बुधबार ३७ जनाले हस्ताक्षर गरेको बताइएको छ । त्यसले नेकपा पार्टीलाई पनि दवावमा पारेको छ ।
वृहत विराट विकास क्षेत्रलाई राजधानी बनाउनु पर्ने प्रस्तावमा हस्ताक्षर गरेर पार्टी पदाधिकारी बैठकमा पुगेका सांसद राजेन्द्र राईले सबैको भावना समेटेर निर्णय गर्न दवाव दिए ।
धनकुटा र संखुवासभा बाहेकका सबै सांसदहरु हस्ताक्षर अभियानमा लागेका छन् ।