
विराटनगर- प्रदेशको नाम र राजधानीको विषयमा छलफल गर्न बसेको सर्वदलीय बैठक सकिएको छ ।
करीब १ घण्टा बसेको बैठकलले सबै दललाई सहमतिबाट नै जाने गरी छलफल केन्द्रित भएको थियो । बैठकमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले सबैलाई समेटेर जानका लागि वैशाख २२ सम्मको लागि प्रस्तावको लागि समय थप्ने निर्णय भएको जानकारी दिए ।
'सबैलाई समेटेर जाने गरी निर्णय भएको छ । नेकपाको सहमतिमै नाम र राजधानी लिएर जानका लागि तयार देखिएपछि प्रस्ताव समय पनि थप गर्ने निर्णय भएको हो । सहमतिमा पुग्नका लागि अझ घनिभूत छलफल गरेर ठाउँ र नाउँमा देखिएको विवाद टुङ्ग्याउने बारेमा छलफल भयो,' कार्कीले भने ।
बैठकमा सहभागी संघीय लिम्बुवान राष्ट्रिय मञ्चकी सांसद विष्णु तुम्बाहाम्फेले दलहरूको सर्वदलीय बैठकमा विराटनगरलाई राजधानी तोक्ने विषयमा छलफल भएको जानकारी दिइन् ।
‘नामको विषय सबैलाई समेटेरै जाने भन्ने कुरामा मुख्यमन्त्रीज्यु देखिनु भएको छ,' उनले भनिन्,'तर स्थायी राजधानीको विषयमा विराटनगरमा छलफल केन्द्रित भयो ।’ प्रस्ताव ल्याउने म्याद २२ गतेसम्मका लागि पुर्याइएसँगै अब आजसम्मको म्याद प्रस्ताव दर्तै नगरी गुज्रिने भएको छ ।
सर्वदलीय बैठकमा मुख्यमन्त्री शेरधन राई, कांग्रेस संसदीय दलका नेता राजीव कोइराला, प्रमुख सचेतक केदार कार्की, नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, संघीय समाजवादी फोरम संसदीय दलका नेता जयराम यादव, राप्रपाकी सांसद इन्दिरा राई, संघीय लिम्बुवान राष्ट्रिय मञ्चकी सांसद विष्णुमाया तुम्बाहाम्फे सहभागी थिए ।