
जनकपुरधाम- प्रदेश नम्बर दुईमा लाल बाबु राउत नेतृत्वको सरकारलाई तत्काल कुनै पनि किसिमको खतरा नरहेको सरकारले दाबी गरेको छ । केही दिन अघि रौतहटका एक जना पूर्वमधेशी जनअधिकार फोरम नेपालका नेता अमर यादवलाई नेकपामा प्रवेश गराउने क्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले प्रदेश नम्बर दुईको सरकारलाई ढाल्न सकिने खालको अभिव्यक्ति दिएका थिए ।
केही चलखेल मात्र गर्यो भने प्रदेश नम्बर दुईमा पनि नेकपाको नेतृत्वमा सरकार बन्न सक्छ भन्ने आशयको अभिव्यक्ति प्रचण्डले दिएका थिए । प्रदेशका जनताले फोरम र राजपाकै सरकार रहिरहोस् भन्ने आफूहरूको चाहना रहे पनि मधेशी जनताको हित विपरीत प्रदेश सरकारले व्यापक भ्रष्टाचार गरिरहेकाले सरकार ढाल्न सकिने प्रचण्डले अभिव्यक्ति दिएको खबर सञ्चारमाध्यममा आएको थियो ।
पूर्वप्रधानमन्त्री समेत रहिसकेका प्रचण्डले उक्त अभिव्यक्ति दिएपछि प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले भने सरकार पूर्ण रूपले सुरक्षित रहेको दाबी गरेका छन् । ‘संविधान निर्माण गर्ने बेला प्रचण्डजीको पनि मुख्य योगदान रहेको हामीलाई लागेको थियो तर अहिले आएर हामीलाई के लागेको छ भने उहाँले संविधान पढ्नु नै भएको छैन,’ मन्त्री यादवले भने, ‘संविधानमा नै प्रदेश सरकार गठन भएको दुई वर्षसम्म सरकार ढाल्ने कुराको परिकल्पना पनि गरिएको छैन ।’
यस्तो परिस्थितमा प्रचण्डले प्रदेश सरकार ढाल्ने र आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउने भनेर भन्नु संघीयता विरूद्धको अभिव्यक्ति पनि हो कि जस्तो लागेको उनले बताए । प्रदेश सरकारका कानूनी सल्लाहकार समेत रहेका मुख्य न्यायाधीवक्ता दीपेन्द्र कुमार झा पनि सरकार संवैधानिक व्यवस्थाअनुसार पनि पूर्ण रूपले सुरक्षित रहेको बताएका छन् ।
‘संविधानको धारा १८८(४)मा मुख्यमन्त्री बनेको पहिलो दुई वर्षसम्म प्रदेशसभामा सरकारविरुद्ध अविश्वासको प्रस्ताव समेत दर्ता गर्न नसकिने उल्लेख छ,’ मुख्य न्यायाधीवक्ता झाले थपे, ‘सरकार ढाल्ने त के अविश्वास प्रस्ताव समेत प्रदेश सभामा त्यस अवधि भित्र दर्ता हुन नसक्ने प्रावधान छ ।’
यदि मुख्यमन्त्री आफैंले राजीनामा दिए मात्र सरकार ढाल्ने कुराको एक छिनको लागि परिकल्पना पनि गर्न सकिन्छ भन्दै झाले भने,'तर, मुख्यमन्त्री लाल बाबु राउत ज्युले अत्यन्तै सहजता र सरलताका साथ काम गरिरहनु भएकाले उहाँले राजीनामा गर्ने कुनै प्रश्न नै छैन ।’ त्यसैले प्रदेश नम्बर दुईको अहिलेको सरकार पूर्ण रूपमा सुरक्षित रहेको उनले बताए ।
प्रदेश सरकारले भ्रष्टाचार मात्र गरेकाले त्यहाँ नेकपाको सरकार बनाउनु पर्छ भन्ने प्रचण्डको अभिव्यक्ति प्रति आन्तरिक मामिला तथा अकानुं मन्त्री ज्ञानेन्द्र यादवले भने, ‘चरम भ्रष्टाचारमा डुबेको संघीय सरकारले त्यो कुरा भन्न कति सुहाउछ ? यदि प्रदेश सरकारले भ्रष्टाचार गरेको छ भने संघीय सरकारसँग विभिन्न जाँचका लागि संयन्त्र छन् त्यसलाई लगाएर छानबिन गर्न सकिन्छ ।'
‘भ्रष्टाचारमा संलग्न हुने जो कोहीलाई पनि कडाभन्दा कडा कानूनी कारवाही होस् भन्ने पक्षमा प्रदेश सरकार पनि रहेको छ,’ संघीय समाजवादी फोरम नेपालको तर्फबाट सरकारमा प्रतिनिधित्व गरिरहेका मन्त्री यादवले थपे, ‘तर प्रधानमन्त्री निवास बालुवाटारको सम्पत्ति बेच्ने मान्छेलाई कारवाही गर्न नसक्ने, दोषी विदेश जाँदा रोक्न नसक्नेले त्यस्तो आरोप लगाउन सुहाउँदैन ।’
प्रदेश सरकारमा भन्दा पनि संघीय सरकारमा नै सबै भन्दा बढी भ्रष्टाचार रहेकाले पहिले त्यहाँबाट भ्रष्टाचारको छानबिन हुनु पर्ने पनि उनले बताए ।
प्रदेश नम्बर दुईमा संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालको साझा गठबन्धनको सरकार छ । प्रदेशको सबै भन्दा ठूलो पार्टी नेकपा प्रमुख प्रतिपक्षमा छ भने नेपाली कांग्रेस पनि प्रतिपक्षमै छ ।