
काठमाडौं– सुन्दरीजलबाट रत्नपार्कतर्फ आइरहेको बा ३ ख ६२३ र गागलफेदी–आलापोट–सुन्दरीजल हुँदै रत्नपार्क आइरहेको बा ३ ख ६१७२ नं बसबीच प्रतिष्पर्धा हुँदा तीव्र गतिका कारण ६२३ नं सवारीका पाँच यात्रु घाइते भएका छन् । ठूलो खाडलमा आकस्मिक ब्रेक लगाउँदा सिलिङमा ठोक्किएर यात्रु घाइते भएका हुन् ।
घाइतेमध्ये दुईको अवस्था गम्भीर छ । गम्भीर घाइते भएका शङ्करापुर नर्सिङ क्याम्पसमा अध्ययनरत छात्राद्वय सजिना पण्डित र सुरजी पण्डितको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ । सजिनाको टाउकोमा चोट लागेको छ । दुर्घटनालगत्तै बेहोस भएपछि सजिना बेहोस भएको यात्रु सविना कार्कीले बताइन् । सुरजीको घुँडामा चोट लागेको छ । धेरै यात्रुको घुँडा र टाउकोमा चोट लागेको छ ।
चाबहिलबाट सुन्दरीजल र साँखुतर्फको सडक ठेक्का लागेको पाँच वर्ष हुँदा पनि विस्तार एवं कालोपत्र हुन सकेको छैन । सो सडकमा मोटरसाइकल र स्कुटीजस्ता साधन दैनिकजसो नै दुर्घटनामा पर्ने गरेका छन् ।