
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभामुख डरपोक रहेको टिप्पणी गरेका छन् ।
प्रधानमन्त्रीले संसदीय मर्यादा उल्लंघन गर्दा पनि टुलुटुलु हेरेको आरोप लगाउँदै देउवाले सभामुखलाई डरपोक रहेको बताएका हुन् ।
‘हिजो संसदमा देखिहाल्नु भो, गैरसंसदीय शब्द डिलिट गर्नु भनेको डरपोक, कातर सभामुखले सकेनन्,’ बुधवार राष्ट्रिय सभागृहमा राष्ट्रिय जागरण अभियानको शुभारम्भ गर्दै सभापति देउवाले भने, ‘इतिहासकै कातर सभामुख रहेछन् ।’
सभापति देउवाले गणतन्त्र आएपछि नेपाल सरकार भन्ने चलन रहेको तर यो सरकारले त्यसलाई तोडेको आरोप पनि लगाए ।
‘कम्यूनिस्टले जे पायो त्यही बोल्न थालिसके,’ देउवाले भने, ‘राष्ट्रपतिले मेरो सरकार भनिन् । योभन्दा अगाडि अघिल्लो वर्ष मेरो सरकार भनेकी थिइनन् । रामवरण यादवले पनि मेरो सरकार भनेका थिए । अहिले यिनलाई बेलायती महारानीजस्तो किन हुनुपरेको ?’