
काठमाडौं– नवगठित समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले वैकल्पिक राजनीतिक धारका लागि स्थापना गरिएको नयाँ शक्ति पार्टीको स्पिरिट नछाडेको दाबी गरेका छन् । वैकल्पिक राजनीतिक धारलाई अझै सशक्त बनाउन पार्टी एकीकरण गरेको उनको भनाइ थियो ।
पार्टी एकताप्रति असन्तुष्ट डेढ दर्जन केन्द्रीय सदस्यहरूसँग बिहीवार भेट गर्दै नेता भट्टराईले फोरमसँग मिल्नु बाध्यता भएको बताएका हुन् । ‘एक्लै हिँडेर कहिँ नपुगिने भएकोले एकता गर्न बाध्य भयौं, वैकल्पिक राजनीतिको धार झन् बलियो र सशक्त भएको छ,’ भेटमा सहभागी एक केन्द्रीय सदस्यले लोकान्तरसँग भने ।
भट्टराईले समाजवादी पार्टीलाई अझ बलियो र सशक्त बनाउन असन्तुष्ट नेताहरूसँग आग्रह गरे । ‘पार्टी एकताले शुभेच्छुकहरूमा सकारात्मक सन्देश गएको छ । असन्तुष्टि फैलाएर र मिडियाबाजी गरेर नहिँड्नुस,’ भट्टराईको आग्रह थियो ।
परम्परागत संसदवादी दलहरू मक्किदै गएको अवस्थामा देशलाई सही निकाय दिनको लागि वैकल्पिक धारलाई बलियो बनाएर जानुको विकल्प नभएको उनले बताए ।
असन्तुष्ट समूहले देश संघीय प्रणालीमा गई राजनीतिक स्थायित्वको कोर्षमा गइसकेको अवस्थामा फेरि ११ प्रदेशको माग र जातीय एजेण्डा उचाल्ने कुराप्रति असन्तुष्टि जनाएका थिए ।
उनीहरूले पार्टीको नाम, झण्डा र नेतृत्व स्वीकार गरेर उपेन्द्रसामु समर्पण गरेको भन्दै निर्णय सच्चाउन ज्ञापनपत्र मार्फत् माग गरेका छन् ।
पूर्वमन्त्री कल्पना धमला, भट्टराई प्रधानमन्त्री रहेको समयमा उनको प्रेस सल्लाहकार रहेका रामरिझन यादव तथा पूर्वसांसद ज्ञानेन्द्र कुमाल लगायत छन् । उनीहरूले छलफललाई जारी राख्ने निर्णय गरेका छन् ।
असन्तुष्ट केन्द्रीय सदस्यहरू नेकपा प्रवेश गर्ने हल्ला भने गलत रहेको केन्द्रीय सदस्य नारायण तिवारीले जानकारी दिए ।