२४ जेठ २०८३, आइतबार

भुटानका प्रधानमन्त्री शनिवारको दिन गर्छन् बिरामीको शल्यक्रिया

बैशाख २६, २०७६
भुटानका प्रधानमन्त्री शनिवारको दिन गर्छन् बिरामीको शल्यक्रिया

काठमाडौं – भुटानका प्रधानमन्त्री लोटे छिरिङ शनिवारको दिन जिग्मे दोर्जी वाङ्चुक नेसनल रिफरल अस्पतालमा बिरामीको शल्यक्रिया गरिरहेको भेटिन्छन् । 

‘शल्यक्रिया मेरा लागि तनाव घटाउने माध्यम हो,’ छिरिङले भने । उनी गत वर्ष सम्पन्न आमचुनावमा विजयी भएर प्रधानमन्त्री बनेका थिए । सन् २००८ पछि चुनाव हुन थालेकोमा त्यो तेस्रो निर्वाचन थियो । 

‘केही मानिस गल्फ खेल्छन्, केही धनुष चलाउँछन् अनि म चाहिँ शल्यक्रिया गर्छु । म आफ्नो सप्ताहान्त यहाँ बिताउँछु,’ ५० वर्षीय प्रधानमन्त्रीले एएफपी समाचार संस्थालाई बताए । 

छिरिङले चिकित्सकको लुगा लगाएर व्यस्त कोरिडोरमा यताउता हिँड्दा कसैले आँखा समेत झिम्क्याउँदैन । नर्स र अस्पताल कर्मचारीहरू सामान्य रूपमा आफ्नो काम गरिबस्छन् । 

भुटानले आर्थिक वृद्धि भन्दा पनि खुशीलाई विकासको मापदण्ड बनाउने गरेको छ । 

कुल राष्ट्रिय खुशीको एक खम्बा भनेको वातावरण संरक्षण पनि हो । भुटानले कार्बन उत्सर्जन गर्दैन र संविधानमै देशको ६० प्रतिशत भूभाग जंगलले ढाकिएको हुनुपर्ने व्यवस्था गरेको छ । भुटानमा वातावरणीय पर्यटनको ठूलो व्यापार छ र उसले सीजन चलेको बेलामा प्रत्येक पर्यटकबाट दिनको २५० डलर असुली गर्ने गरेको छ । 

राजधानी थिम्पुमा ट्राफिक बत्ती नै छैन अनि सूर्तीमा प्रतिबन्ध लगाइएको छ । देशमा टेलिभिजन पनि सन् १९९९ देखि मात्र राख्ने अनुमति दिइएको थियो । 

धनुषवाण प्रतियोगितामा राष्ट्रिय रुचि नै छ । खराब शक्तिहरूलाई भगाउनका लागि घरमा लिंगको चित्र कोर्ने गरिएको छ । 

तर भुटानमा भ्रष्टाचार, ग्रामीण गरीबी, युवा बेरोजगारी र आपराधिक समूहको समस्या पनि उत्तिकै छ ।

छिरिङले बंगलादेश, जापान, अस्ट्रेलिया र अमेरिकामा चिकित्सा तालिम लिएका छन् । उनले सन् २०१३ बाट राजनीतिक यात्रा शुरू गरेका हुन् । तर त्यस वर्ष भएको चुनावमा उनको दलले खासै राम्रो प्रदर्शन गर्न सकेको थिएन । 

त्यो चुनाव हारेपछि भुटानका राजा जिग्मे खेसर नामग्येल वाङ्चुकले उनलाई चिकित्सकहरूको टोलीको नेतृत्व गर्दै दूरदराजका गाउँमा निःशुल्क स्वास्थ्योपचारका लागि आफूसँग जान भनेका थिए । 

अहिले प्रधानमन्त्री भएपछि उनले शनिवार रोगीहरूको उपचार गर्ने गरेका छन् । बिहीवार बिहान उनले प्रशिक्षार्थी र चिकित्सकहरूलाई स्वास्थ्य परामर्श दिने गरेका छन् । आइतवारको समय चाहिँ उनले परिवारका लागि छुट्ट्याउने गरेका छन् । 

प्रधानमन्त्री कार्यालयमा फर्केपछि उनी चिकित्सकको कोट आफ्नो कुुर्सीमा झुण्ड्याउँछन् । 

यसले उनलाई स्वास्थ्य सेवामा जोड दिनका लागि गरेको चुनावी प्रतिज्ञाको स्मरण गराउने उनको भनाइ छ ।

भुटानमा स्वास्थ्य सेवाका लागि रोगीहरूले सीधै पैसा तिर्नुपर्दैन तर स्वास्थ्य उपचारमा महत्त्वपूर्ण कदम चालेको भए पनि थुप्रै काम गर्न बाँकी रहेको उनी बताउँछन् ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्