
काठमाडौं – इटालीको सिसिली शहरमा खाली घरहरू जम्मा १२५ रुपैयाँमा विदेशी क्रेताहरूलाई बेचिने योजना सार्वजनिक गरिएको छ । शहर रित्तिँदै गएपछि नगर परिषद्ले सस्तोमा घर बेच्ने निर्णय लिएको हो ।
खाली घरमा बस्न आउन चाहनेहरूले १२५ रुपैयाँबाट लिलाम बिक्रीको आरम्भ गर्न पाउनेछन् ।
‘लिलामीमा धेरै मूल्य दिन नचाहनेहरूका लागि एउटा क्रोसाँको मूल्य बराबरमा घर बेचिनेछ,’ साम्बुकाका त्यतिखेरका उपमेयर जोसेप्पे कासिओप्पोले बताएका थिए ।
यति सस्तोमा घर पाइने खबर तत्कालै फैलिएपछि बेलायत, दुबई, पानामा र रुसबाट सयौं मानिस साम्बुका पुगेका थिए । अनि नगर परिषद्को कार्यालयको फोन हप्तौंसम्म बजिरह्यो ।
‘मानिसहरूले सिड्नी, लन्डन र न्युयोर्कबाट समेत फोन गरे,’ कासिओप्पोले बताए । ‘घोषणाको केही हप्तामा हामीले लगभग एक लाख इमेल पायौं । अहिले पनि सम्भावित क्रेताहरू सिसिलीका लागि उपलब्ध उडान लिएर पुग्ने गरेका छन् ।’
बुधवार मेयरले नगरपालिकाको स्वामित्वमा रहेको १६ वटा घर बेचिएको बताए । सबभन्दा सस्तो घर १२ लाख रुपैयाँभन्दा अलिकति बढीमा बिकेको थियो भने सबभन्दा महंगो ३१ लाखभन्दा अलिकति बढीमा बिकेको थियो ।
बेलायती, रुसी, चिली र इजरायली परिवारले घर किनेका छन् ।
अन्य ५० घरहरू विदेशी क्रेतालाई निजी रूपमा बेचिएको कासिओप्पोले बताए ।
कुनै समयमा नौ हजार मानिस बसोबास गर्ने शहर साम्बुका एउटा आरक्षभित्र रहेको छ र त्यो जंगल र पहाडले घेरिएको छ । अहिले त्यहाँ पाँच हजार मानिस छन् । कृषि क्षेत्रको औद्योगिकीकरण भएपछि कृषकहरू भाग्न बाध्य भएका थिए र शहर पतन हुँदै गयो । सन् १९६८ को जनवरी महिनामा आएको भूकम्पका कारण शहर ध्वस्त भएको थियो ।
इटालीका अन्य गाउँहरूमा पनि जनसंख्या घट्दै गएपछि अधिकारीहरूले एक कप कफीको मूल्य बराबरमा घर बिक्रीमा राख्न थालेका छन् ।
द गार्डियनबाट