०५ साउन २०८३, मंगलबार
मुख्य समाचार

स्थानीय तहले खुलाएको कर्मचारी भर्ना मन्त्रालयले रोक्यो, अनुष्का श्रेष्ठ बनिन् मिस नेपाल

बैशाख २७, २०७६
स्थानीय तहले खुलाएको कर्मचारी भर्ना मन्त्रालयले रोक्यो, अनुष्का श्रेष्ठ बनिन् मिस नेपाल

  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई स्थायी कर्मचारी भर्ना नगर्न निर्देशन दिएको छ । 

    बिहीबार बसेको मन्त्रीस्तरको बैठकले कानूनअनुसार स्थानीय तहले स्थायी कर्मचारी भर्ना गर्न नपाउने भएकाले स्थायी पदपूर्ति नगर्न निर्देशन दिएको मन्त्रालयका स्थानीय तह समन्वय शाखाका शाखा अधिकृत जनकराज शर्माले जानकारी दिए । 
    कर्मचारी अभावले सेवा प्रवाहमा कठिनाइ भएकाले केही स्थानीय तहले विज्ञापन गरी भर्ना प्रक्रिया अगाडि बढाएकाले मन्त्रालले रोक्न निर्देशन दिएको हो ।
 स्थानीय तहबाट रिक्त पदका लागि स्थायी पदपूर्तिका लागि प्रक्रिया अगाडि बढाउने व्यवस्था प्रचलित कानूनमा नभएकाले स्थानीय तहले स्थायी पदपूर्तिका लागि सूचना÷विज्ञापन गरेको भए सो समेत बदर गर्ने निर्णय गरेको उनले जानकारी दिए ।  

    बैठकले चाँडै नै स्थानीय तहमा रिक्त कर्मचारी भर्ना प्रक्रिया अगाडि बढाउनेसमेत निर्णय गरेको उनले बताए । ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४’ को दफा ८६ को उपदफा ३ अनुसार स्थानीय सेवाको स्थायी दरबन्दीको पदमा प्रदेश लोकसेवा आयोगले छनौट गरी सिफारिश गरेको उम्मेदवारलाई मात्र नियुक्ति गर्नुपर्ने छ । 

    ‘कर्मचारी समायोजन ऐन २०७५’ को दफा १२ मा सोही ऐनको दफा ३ बमोजिम कायम गरिएको दरबन्दीमा दफा ६ र ७ बमोजिम समायोजन गर्दासमेत त्यस्तो दरबन्दीको पूर्ति हुन नसकेमा सम्बन्धित प्रदेश वा स्थानीय तहले लोक सेवा आयोजमा पदपूर्तिका लागि अनुरोध गरी पठाउनुपर्ने छ र सोहीअनुसार प्रदेश लोक सेवा आयोग गठन नभएसम्मका लागि सम्बन्धित प्रदेश वा स्थानीय तहले मन्त्रालयमार्फत लोकसेवा आयोगमा अनुरोध गरी पठाउनुपर्ने छ भन्ने उल्लेख गरिएको छ । तर ती प्रावधानविपरीत केही स्थानीय तहले स्थायी कर्मचारी भर्ना गर्न थालेकाले भर्ना नगर्न निर्देशन दिएको हो । 

    मन्त्रालयले सबै स्थानीय तहलाई यही वैशाख २० गतेसम्म रिक्त दरबन्दीको विवरण बुझाउन भनेको थियो । सोहीअनुसार ४३३ स्थानीय तहले करीब १० हजारको रिक्त दरबन्दी बुझाएका छन् । सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्दा अझै पनि करीब १६ हजार कर्मचारी स्थानीय तहमा अपुग भएका छन् । मन्त्रालयले चाँडै नै स्थानीय तहमा अपुग कर्मचारी भर्नाका लागि स्थानीय तहबाट रिक्त पदको विवरण लोकसेवा आयोगमा पठाइ प्रक्रिया थाल्ने जनाएको छ । 


अनुष्का श्रेष्ठ मिस नेपाल
मिस नेपाल वल्र्ड २०१९ को टाइटल अनुष्का श्रेष्ठले जितेकी छिन् । बिहीबार राती सम्पन्न फाइनलमा अन्य २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनी उपाधि जित्न सफल भएकी हुन् । 

यसैगरी मिस नेपाल इन्टरनेशनल मिरा कक्षपति,  मिस नेपाल अर्थ रिया बस्नेत, मिस नेपाल युनिभर्स २०१९ प्रदिप्ता अधिकारी र मिस नेपाल सुपर नेशनल रोज लामा बन्न सफल भएका छन् । 
गतवर्ष मिस नेपाल मिस नेपाल वल्र्ड श्रृङ्खला खतिवडा बनेकी थिइन् ।  
६ बुँदे सहमति

साँखु– चावहिल–साँखु सडकखण्ड कालोपत्र नहुुँदा मारमा परेका भन्दै आन्दोलरत पक्ष र स्थानीय प्रतिनिधिसहित ठेकदार कम्पनीसँग ६ बुँदे सहमति भएको छ ।
 सो सडक खण्डमा कालोपत्र नहुँदा सर्वसाधारण मर्कामा परेको र तत्काल कालोपत्र हुनुपर्ने माग गर्दै बौद्ध व्यापार सङ्घ र स्थानीयवासीले आन्दोलको घोषणा गरेका थिए ।

बिहीबार साँझ आन्दोलनरत पक्षसहित काठमाडौं महानगरपालिका वडा नम्बर ६, ठेकेदार कम्पनी युनाइटेड विल्डिर्स, महानगरीय प्रहरी वृत्त बौद्ध र टुसाल युवा क्लबबीच ६ बुँदे सहमति भएको हो ।  

बिहीबार पाँच सयको सङ्ख्यामा रहेका स्थानीयवासी तथा व्यापारीले बिहान ८ बजेदेखि गरेका साङ्केतिक विरोध कार्यक्रमका कारण सडक अस्तव्यस्त भएको थियो ।

सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन जेठ १ मा

    सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभाको चौथो अधिवेशन आउने जेठ १ गते दिउँसो ३ बजे आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिश गर्ने निर्णय गरेको छ । 
 
 मन्त्रिपरिषद्को बैठकले प्रदेश विशेष अनुदानसम्बन्धी कार्यविधि २०७५ लाई संशोधन गर्ने निर्णयसमेत गरेको भौतिक पूर्वाधार विकासमन्त्री पठानसिं बोहराले जानकारी दिए ।  बैठकमा योजना तर्जुमालगायतका विषयमा समेत छलफल भएको जनाइएको छ ।

मुलुकभर १६७० स्थानमा डढेलो
पछिल्लो २४ घण्टाको विवरण हेर्दा मुलुकभरका वनजङ्गलमध्ये एक हजार ६७० स्थानमा डढेलो लागेको देखिएको छ । 
 
      अमेरिकी वैज्ञानिक संस्था नासाको मोडिस् स्याटलाइटले पठाएको तस्बीरमा नेपालका ३५ जिल्लामा आगलागी भएको देखिएको हो । जसमध्ये सबैभन्दा बढी कैलालीमा ४१७ स्थानमा वन डढेलो लागेको देखिएको छ । 
 
      नासाको उक्त तस्बीरका आधारमा हेर्दा कञ्चनपुरमा १९१, डडेल्धुरमा १८८, दाङमा १७५, सुर्खेतमा १४६, बर्र्दियामा १३३, सल्यानमा १००, डोटीमा ६७, बाँकेमा ५५, अर्घाखाँचीमा ५० अछाममा ४१, प्यूठानमा २३, बैतडी र दैलेखमा १४÷१४, गुल्मीमा नौ, धादिङ र सिन्धुपाल्चोकमा सात÷सात स्थानमा डढेलो लागेको देखिएको छ । यसबाहेक अन्य जिल्लाका एक÷दुई स्थानमा डढेलो लागेको देखिन्छ । 

    
घुस लिएको आरोपमा पक्राउ 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चौफा सब डिभिजन वन कार्यालय, चौरजहारी, रूकुम पश्चिममा कार्यरत फरेष्टर महेन्द्र विसीलाई रु सात हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ । 

    वन कटान आदेशको काममा सहजीकरण गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले मुसीकोट नगरपालिका–१ कालिका मन्दिर नजिकको खाजा घरबाट पक्राउ गरेको हो । आरोपी फरेष्टरको थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । 

निक्षेप जम्मा गर्दा उपहार दिन नपाइने 

    नेपाल राष्ट्र बैंकले निक्षेप जम्मा गर्ने नाममा बैंक तथा वित्तीय संस्थालाई कुनै पनि प्रकारको उपहार दिन नपाइने व्यवस्था गरेको छ । 
 
    केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई एक परिपत्र जारी गर्दै निक्षेप सङ्कलन कार्यलाई आकर्षक बनाउन उपहारसम्बन्धी कार्यक्रम सञ्चालन गर्न नपाइने व्यवस्था गरेको छ । निक्षेप सङ्कलन गर्दा सुनचाँदीका सिक्कालगायत कुनै पनि किसिमका उपहार प्रदान गर्न पाइने छैन । 

    यस्तै बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ का विभिन्न दफामा संशोधन गरेको छ । 


    प्रचण्ड र सीताको पचासौँ विवाहोत्सव
    
    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सीता दाहालबीच विवाह भएको ५०औँ वर्षगाँठ मनाइएको छ । 
    
सुनाकोठीमा आयोजना गरिएको विवाहोत्सवमा उपराष्ट्रपति नन्दबहादुर पुन, कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरा, नेकपाका सचिवालय सदस्यहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा र महासचिव विष्णु पौडेललगात स्थायी कमिटीका अधिकांश नेता, केन्द्रीय समितिका सदस्य, पार्टी कार्यकर्ताको सहभागीता थियो । सो समारोहमा समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवलगयतको उपस्थिती थियो । दाहाल र सीताबीच २०२६ साल वैशाख २६ गते विवाह भएको हो ।

प्रधानमन्त्री ओली भियतनाम र कम्बोडिया प्रस्थान 

    प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा ती देशको भ्रमणका लागि बिहीबार प्रस्थान गरेका छन् । 
 क्रमशः यही वैशाख २६–३० र वैशाख ३०–जेठ १ गते हुने सो औपचारिक भ्रमणमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य पनि रहेकी छिन् । 
    
    प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सेना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललगायत मन्त्रिगण र उच्च कर्मचारीले बिदाइ गरे । सो अवसरमा नेपाली सेनाको टुकडीले प्रधानमन्त्री ओलीलाई सलामी दिएको थियो ।


 

salt training

कमेन्ट गर्नुहोस्