
काठमाडौं - अहिलेका चर्चित अभिनेता अनमोल केसीले चलचित्र ‘होस्टेल’बाट डेब्यू गरे । त्यस्तै अभिनेता सुशिल श्रेष्ठ र नाजिर हुसेनले ‘होस्टेल रिटन्र्स’बाट डेब्यू गरे । यी चलचित्रको सफलतापछि अब ‘होस्टेल’को तेस्रो सिरिज ‘होस्टेल ब्याक अगेन’ निर्माण हुने भएको छ ।
चलचित्रलाई दुर्गेस फिल्मस् र काफिया फिल्मस्ले निर्माण गर्ने भएको हो । चलचित्रको छायाँकन अमेरिकामै गरिने यसका निर्माता गोविन्द शाहीले जानकारी दिएका छन् ।
यो चलचित्रलाई सुनिल रावलले निर्देशन गर्नेछन् । उनि पछिल्लो समय अमेरिकामै छन् । सुनिलका अनुसार हरेक देशबाट अमेरिका अध्ययनका लागि गएका र होस्टेलमा बसेका युवायुवतीहरुको विषयलाई मुख्य कथा बुनेर ‘होस्टेल ब्याक अगेन’ निर्माण गरिँदै छ ।
आफुले यही चलचित्रबाट निर्देशनमा डेब्यु गर्ने पनि सुनिलले बताएका छन् । चलचित्रमा कथा स्वयम रावलको हो । यसको पटकथा, संवाद रायन राइजको रहनेछ । हाल स्क्रिप्टको काम भइरहेको पनि सुनिलले जानकारी गराएका छन् ।
आगामी अगष्टबाट छायाँकन सुरु हुने यो चलचित्रको कलाकार चयन चाँडै सुरु गर्ने पनि सुनिलको कथन छ । अर्का निर्माता गोविन्द शाहीका अनुसार केही कलाकार नेपालबाट अमेरिका छायाँकनका लागि जानेछन् । तर बाँकी कलाकार अडिसनबाट अमेरिकामै चयन गरिने छ । होस्टलका विद्यार्थीका रुपमा अमेरिकामा नै अध्ययनका शिलशिलामा रहेका नेपाली विद्यार्थीहरु हुनेछन् ।
रावलको निर्माणमा ६ वर्ष अगाडि ‘होस्टल’ निर्माण भएको थियो ।