०४ असार २०८३, बिहीबार

लोपोन्मुख पञ्चेबाजा संरक्षणमा जुट्यो स्थानीय तह

बैशाख २९, २०७६
लोपोन्मुख पञ्चेबाजा संरक्षणमा जुट्यो स्थानीय तह

काठमाडौँ - विवाह–व्रतबन्ध तथा शुभकार्यमा बजाइने पञ्चेबाजा अहिले लोपोन्मुख अवस्थामा छ । परियार समुदायले बजाउँदै आएको पञ्चेबाजा नयाँ पुस्तामा सीप हस्तान्तरण नभएका कारण लोप हँुदै गएको छ । विशेषगरी दर्जी समुदायका व्यक्तिले यो बाजा बजाएरै जीवन निर्वाह नहुने भएपछि अरू पेशामा लाग्दा बाजाको संरक्षण हुन नसकेको हो ।

बेरोजगारीको समस्याले दैनिक भारत तथा अन्य मुलुकमा युवा पलायन हुँदै गर्दा साथै पेशाको संरक्षणको अभावले बाजा लोप हुँदै गएको समाजका अगुवाको भनाइ छ । गाउँमा हुने विभिन्न मेला, पर्व, धार्मिकउत्सव, अन्य औपचारिक कार्यक्रममा हाल बाजा त्यति धेरैमात्रामा सुन्न पाइँदैन । हाल अधिकांश पर्व वा धार्मिक कार्यमा मादल मात्र बजाउने गरिएको छ ।

त्यस्ता खालका बाजाको लोप हँुदै गर्दा यसको संरक्षणमा वाणगङ्गा नगरपालिका यतिबेला जुटेको छ । पुरानो कला संस्कृति हराउन थालेकामा स्थानीयवासीले चिन्ता व्यक्तसमेत गरेका छन् । संस्कृतिको संरक्षण गर्न कपिलवस्तुको वाणगङ्गा नगरपालिका–७ ले परियार सेवा समाजलाई नौमती पञ्चेबाजा वितरण गरेको छ ।

वडाको बजेटअन्तर्गत सहनाई, ट्याम्को, ढोलक, नरसिङ्गा, झुर्मालगायतका पञ्चेबाजाका एक सेट सामान वितरण गरिएको हो । युवापुस्ताले चासो नदिँदा विवाह–व्रतबन्ध तथा शुभकार्यमा बजाइने पञ्चेबाजा अधिकांश क्षेत्रमा अहिले लोपोन्मुख अवस्थामा छ ।

जानेबुझेदेखि नै पञ्चेबाजा बजाउन थालेको परियार सेवा समाज बनगाईका अध्यक्ष मानबहादुर परियारको भनाइ छ । परियार समुदायले बजाउँदै आएको पञ्चेबाजा नयाँ पुस्तामा सीप हस्तान्तरण नभएका कारण लोप हुँदै गएको छ । बाउबाजेको पेशा र सीपलाई पछिल्लो पुस्ताले अवलम्बन नगर्दा संस्कृति नै हराउन थालेको वडा नं ७ का ५७ वर्षीय प्रेम परियारले बताउँछन् । उनले भने, 'कला–संस्कृति लोप हुँदै जाँदा पहिचान नै मेटिन थालेको छ ।' यस्ता चलनचल्तीमा आएका कला–संस्कृति जगेर्ना गर्न सम्बन्धित निकायले ध्यान दिनु जरुरी रहेको परियारको भनाइ छ ।

विदेशी कला–संस्कृतिको नक्कल र अनुसरणले नेपाली पुस्ता प्रभावित हुँदै जाँदा परम्परागत कला संस्कृतिको संरक्षण गर्नु स्थानीय सरकारको दायित्व हो भन्ने बुझेर पञ्चेबाजा वितरण गरेको वडा नं ७ का वडाध्यक्ष विष्णु गिरीको भनाइ छ । जातीय पहिचान बोकेको कला–संस्कृतिको संरक्षण नहुँदा अस्तित्व नै मेटिन थालेको छ । यस्ता चलनचल्तीमा आएका कला–संस्कृति जगेर्ना गर्न सम्बन्धित निकायले पनि समयमै ध्यान दिनु जरुरी छ ।

salt training

कमेन्ट गर्नुहोस्