१५ असार २०८३, सोमबार

पार्टी नेतृत्वप्रति शेखर कोइराला आक्रामक : ‘कांग्रेस विधानअनुसार चलेको छ ?’

बैशाख ३०, २०७६
पार्टी नेतृत्वप्रति शेखर कोइराला आक्रामक : ‘कांग्रेस विधानअनुसार चलेको छ ?’

विराटनगर – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी जिल्ला सभापतिहरूले अब महाधिवेशनका लागि हस्ताक्षर संकलन अभियान चलाउनुपर्ने बताएका छन् ।

नेपाल महिला संघ मोरङले विराटनगरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै डा. कोइरालाले भने, ‘हामी सरकारमा अनुशासन छैन भनेर आलोचना गर्छाैं तर अनुशासनको कसीमा पहिले आफूलाई हेरौं भन्ने आग्रह गर्दै कार्यक्रमको हल खाली हुनु अनुशासनको कमी हो ।’

‘हामी सरकारले संविधान उल्लंघन गर्‍यो भन्छौं तर के नेपाली कांग्रेस पार्टी चाहिँ आफ्नो विधानअनुसार चलेको छ ?’ उनले भने, ‘हामी आफूलाई लोकतान्त्रिक भन्छौं तर आचरण, व्यवहार र संस्कार पनि लोकतान्त्रिक हुनु जरुरी छ । के अहिलेको अवस्था ल्याउन नेपाली कांग्रेस जिम्मेवार छैन ?’

डा. शेखरले महासमितिको निर्णयलाई अटेर गरेर नेपाली कांग्रेसको नेतृत्वले विधिको शासन नमानेको भन्दै उनले यस्तो नेतृत्वले प्रधानमन्त्री ओलीलाई कुन नैतिक बलले पाठ सिकाइरहेका छन् भन्ने टिप्पणी गरे ।

‘पार्टी नेतृत्वलाई दबाब नपरेसम्म महाधिवेशन हुँदैन र महाधिवेशन भएन भने नेपाली कांग्रेस अझ कमजोर हुन्छ,’ शेखरले भने, ‘जागरण अभियानका क्रममा म काभ्रे खटिएको छु तर काभ्रेमा कुनै गाउँपालिकामा हाम्रो संगठन छैन, कहाँ र कसलाई गर्ने जागरण ? त्यसैले यो जागरण पनि महाधिवेशन सार्ने एउटा बहाना हो भन्ने मलाई लागेको छ ।’

कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्व पूर्णरुपमा असफल भएको बताउँदै पार्टी एकताको लागि आफू बाधक नबन्ने बताए ।

महामन्त्री शशांक कोइरालाले महिलालाई ५० प्रतिशत आरक्षण दिनुपर्ने बताए । पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले महासमितिको निर्णय लत्याएर नेतृत्वले गल्ती गरेको बताए । केन्द्रीय सदस्य डा. रामशरण महतले बहुमतको दम्भ नदेखाउन सभापति शेरबहादुर देउवालाई चेतावनी दिए ।

salt training

कमेन्ट गर्नुहोस्