११ असार २०८३, बिहीबार

लालबाबुको आँखामा ‘मिता आब कोना चलब’

बैशाख ३०, २०७६
लालबाबुको आँखामा ‘मिता आब कोना चलब’

काठमाडौं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले ‘मिता आब कोना चलब’ नाटकले नेपाली समाजलाई एकताबद्ध बनाउन अभिप्रेरित गर्ने बताएका छन् ।

अनामनगरस्थित मण्डला नाटकघर पुगेका मन्त्री पण्डितले नाटक हेरेर ‘मिता आब कोना चलब’ नाटकले नेपाली समाजलाई अराजकहरुले खण्डित गर्ने कोसिस गरे पनि जागरणका माध्यमबाट सचेतता प्रदान गर्नु पर्ने मन्त्री पण्डितले बताए ।

‘एउटा समय थियो, हाम्रो समाजका केही विषालुहरुले विष घोलेका थिए,’ मन्त्री पण्डितले भने, ‘अब त्यो विष विस्तारै समाप्त हुँदैछ, तर त्यसका छिटाहरु अहिले पनि कहींकतै  देखिन्छ, अन्तिम सत्य के हो भने सामाजिक सद्भाव तथा राजनीतिक सद्भावको पनि खाँचो छ ।’

युवा कलाकार रामभजन कामतको लेखन तथा निर्देशन रहेको नाटक मण्डला नाटकघरमा वैशाख २० गतेदेखि मञ्चन भइरहेको छ । जेठ ५ गतेसम्म मञ्चन हुने नाटकको प्रस्तुति विराटमैथिल नाट्य कला परिषदको रहेको छ ।

नाटकमा निर्देशक कामतसहित सुनिता घिमिरे, कौशिला कामत, मिलन नेपाली, विकास पराजुली, राजेश ठाकुर, भरत कार्की, सञ्जय गुप्ता, आदित्य मिश्रा, अमृता श्रेष्ठ, अमृत स्वाँर र शंकर पोखरेलले अभिनय गरेका छन् ।

‘मिता आब कोना चलब’को कथासार

नेपाली र मैथिली भाषामा रहेको ‘मिता आब कोना चलब’ नाटकमा एक जना पहाडी र एक जना मधेशी मूलकाव्यक्तिहरुबीच भेट हुन्छ । त्यो भेटलाई उनीहरुले गहिरो मित्रतामा परिणत गर्छन् । एकले अर्कालाई चाडपर्वमा बोलाउने क्रमले मित्रता अझ प्रगाढ बन्छ ।

नाटकको दोस्रो खण्डमा कथाले नयाँ मोड लिन्छ । ती दुई मितको सम्बन्धमा दरार पैदा हुन्छ । आपसी द्वन्द्व कसरी समाधान हुन्छ वा हुँदैन ? यसका लागि नाटक ‘मिता आब कोना चलब’ हेर्ने पर्ने हुन्छ ।

‘मिता आब कोना चलब’ले मधेश आन्दोलनपछिको तराईका नागरिकमा सिर्जित मनोविज्ञानलाई पनि प्रस्तुत गरेको निर्देशक कामतले बताए । मिता आब कोना चलब अर्थात् मितज्यू अब कसरी जाने ? नाटकमा सामान्य कृषिकर्म गर्ने मानिसको परिवारमा पारेको असरलाई जीवन्त शैलीमा प्रस्तुत गरिएको छ । पहाडी खस र मिथिला संस्कृतिको संयोजनले नाटकलाई अन्तरआञ्चलिक विशेषता प्रदान गरेको छ । नाटकमा नेपाली र मैथिली दुवै भाषा प्रयोग गरिएको छ।

salt training

कमेन्ट गर्नुहोस्