
भाँडा माझ्दा प्रयोग हुने स्पन्जमा ब्याक्टेरिया भरिएको हुने जर्मन वैज्ञानिकहरूले बताएका छन् ।
वैज्ञानिकहरूले भान्साघरहरूमा उपलब्ध १४ वटा स्पन्जमा रहेका कीटाणुको डीएनए अध्ययन गरे र यसमा मोराक्सेला अस्लोएन्सिस जस्ता ब्याक्टेरिया हुने गरेको पत्ता लगाए । रोगप्रतिरोधक क्षमता कमजोर हुने मानिसलाई यसको संक्रमण चाँडै फैलिन्छ ।
फोहर कपडाबाट आउने गन्धको कारण पनि यही ब्याक्टेरिया हो ।
योस्तुस लीबेश विश्वविद्यालयको इन्स्टिच्युट अफ अप्लाइड माइक्रोबायोलोजीका मासिमिलानो कार्डिनाल भन्छन्, ‘भान्सामा पाइने स्पन्जमा अपेक्षाभन्दा बढी ब्याक्टेरिया रहेको हाम्रो अध्ययनले पुष्टि गर्छ ।’
बारम्बार प्रयोग गरिने स्पन्जमा ब्याक्टेरिया सजिलै फैलिने र बढ्ने हुन्छ । स्पन्जलाई साबुन लगाएर सफा गर्न सकिन्छ भन्ने सोच्दै हुनुहुन्छ भने तपाईं गलत हुनुहुन्छ । वैज्ञानिकहरूका अनुसार साबुन र पानीले स्पन्जमा विशेष किसिमका ब्याक्टेरियालाई झनै प्रोत्साहन गर्छ ।
कि त स्पन्जलाई ब्लीचले धुने कि त एक हप्तामा स्पन्ज बदल्ने गरेमा मात्र ब्याक्टेरियाको आतंकबाट बच्न सकिने वैज्ञानिकहरू बताउँछन् । स्पन्ज गनाउँछ भने पक्कै ब्याक्टेरिया स्याउँस्याउँ छन् भनी बुझ्नुपर्छ ।