
काठमाडौं – अफगानिस्तानकी सुपरिचित टीभी प्रस्तोताको दिउँसै हत्या गरिएपछि सामाजिक सञ्जालमा अफगानीहरूले देशमा महिलाविरुद्ध भएको हिंसामा चिन्ता व्यक्त गरेका छन् ।
मीना मंगललाई शनिवार काबुलमा एकदमै नजिकैबाट गोली हानिएको थियो ।
उनी अफगानी संसद्को सांस्कृतिक मामिला आयोगमा सल्लाहकारका रूपमा काम गरिरहेकी थिइन् । त्यसअघि उनी टीभी प्रस्तोता थिइन् ।
गृह मन्त्रालयको एक बयानअनुसार, शनिवार ७ बजेर २० मिनेट जाँदा उनी कार्यालय गइरहेको बेलामा उनीमाथि आक्रमण भएको थियो ।
अफगानिस्तानको सर्वोच्च अदालत र नागरिक समाज समूहले मनिाको हत्यालाई गम्भीरतापूर्वक अनुसन्धान गर्न आग्रह गरेका छन् ।
तर मीनाका हत्याराका बारेमा केही थाहा हुन सकेको छैन । अनुसन्धानमा पारिवारिक कारणतर्फ संकेत गरिएको छ ।
प्रमुख कार्यकारी अब्दुल्ला अब्दुल्लाले हत्यारालाई छिट्टै पक्राउ गरिने बताएका छन् ।
मीनाले केही समयअघि फेसबूकमा एउटा पोस्ट गरेर आफूलाई धम्की आइरहेको र ज्यानको खतरा रहेको लेखेकी थिइन् ।
उनको हत्याले काबुल स्तब्ध भएको छ ।
महिलाविरुद्धका हाईप्रोफाइल अपराध राजधानी काबुलको भीडभाडयुक्त इलाका र सुरक्षित ठानिएका क्षेत्रमा हुने गरेको केही मानिसले बताएका छन् ।
एक महिला अधिकारकर्मी वजमाले लेखिन्, ‘एक महिलालाई दिउँसै मारिन्छ किनकि ऊ मर्नुपर्छ भन्ने पुरुषलाई लाग्छ ।’
मीनालाई हत्या गरिएको ठाउँमा भीडभाड थियो र घटनास्थलनजिकै प्रहरी पनि तैनाथ थियो । तैपनि आक्रमणकारीहरू सजिलै त्यहाँबाट भागे ।
कामकाजी महिलाहरूले सुरक्षाका लागि आवश्यक कदम उठाउन माग गरेका छन् ।
टीभी प्रस्तोताका रूपमा मीनाले अनेकौं सांस्कृतिक कार्यक्रम चलाउने गरेकी थिइन् । उनको एउटा कार्यक्रम महिला सुरक्षासँग पनि जोडिएको थियो ।
फेसबूकमा आफ्नो अन्तिम पोस्टमा मीनाले महिलाहरूलाई दमन गर्ने र मार्ने धम्की दिने मानिसविरुद्ध आक्रोश व्यक्त गरेकी थिइन् ।
अफगानी महान्यायाधिवक्ताको कार्यालयका एक प्रवक्ता जमशीद रसूलीले मीना दुई वर्षपहिले पतिबाट छुट्टिएको जानकारी दिए । उनको परिवारले घरेलु हिंसाको उजुरी पनि दर्ता गराएको थियो ।
यस मुद्दालाई पारिवारिक हिंसा हेर्ने अदालतमा रिफर गरिएको र पछि फिर्ता लिइएको रसूलीले बताए ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । अहिलेसम्म कुनै पनि आरोपित पक्राउ परेको छैन ।
बीबीसीबाट