
काठमाडौं – पर्यटकीय नगरीको व्यवस्थापनका सन्दर्भमा प्रदेश सरकार बनेपछि पटक–पटक बहस हुने गरेको छ ।
प्रदेश ३ सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदभार ग्रहण गरेको केही समयपछि पोखरामा ‘रेड लाइट एरिया’ बनाउन सकिनेबारे अभिव्यक्ति दिए ।
मुख्यमन्त्रीको त्यो अभिव्यक्तिले निकै चर्चा पायो, विवादास्पद बन्यो र बिस्तारै सेलाएर गयो ।
हाल गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले एउटा कार्यक्रममा पोखरामा ‘इन्जोय जोन’ (मनोरञ्जन क्षेत्र) बनाउने सम्बन्धी अभिव्यक्ति दिए । मन्त्रीको ‘इन्जोय जोन’ बनाउने अभिव्यक्तिमाथि सामाजिक सञ्जाल र सञ्चारमाध्यममा टिकाटिप्पणी भइरहेको छ ।
गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले आफूले राखेको अभिव्यक्तिको मर्मभन्दा विषयवस्तु बाङ्गिएर मिडियामा आएको बताए ।
‘खासमा हामीले पोखरामा एउटा स्पेसल इकोनोमिक जोन बनाउने कुरा गरेको हो । पर्यटकीय क्षेत्र अहिले पनि फेवातालको आसपासमा विकास भएका छ । यो ठाउँमा व्यक्तिगत, पारिवारिक बसाइ छ, विद्यालय छन्, मठ मन्दिर पनि छन् । पर्यटकीय क्षेत्र भनेपछि पर्यटक जुनसुकै समयमा दिन वा रातिमा आउँछन्, उनीहरूलाई सेवासुविधा दिनुपर्छ ।’
प्रदेश सरकारले पर्यटकीय क्षेत्र विकासको कुरा गरेको मन्त्री लम्सालले बताए । ‘मैले भनेको इन्जोय जोन अन्तर्गत मेडिटेसन सेन्टर (ध्यान केन्द्र), सबै प्रकारका स्ट्यान्डर्ड खानपिन र अन्तर्राष्ट्रिय स्तरको हाम्रो संस्कृति सुहाउँदो सेवा सुविधाको क्षेत्र हो,’ मन्त्री लम्सालले भने, ‘अहिले फेवातालको क्षेत्रमा निजी, व्यक्तिगत, पारिवारिक जीवन पनि छ । अब हामीले बनाउने पर्यटकीय जोनमा नितान्त पर्यटकीय जीवन मात्रै होस् भन्न खोजेको हो । जसले गर्दा त्यो पर्यटकीय ईकोनोमिक जोनको रुपमा विकास हुन्छ ।’
सामाजिक संस्कृति र सभ्यताले गर्न नमिल्ने कुरालाई प्रदेश सरकारले बुझेको मन्त्री लम्सालले बताए । ‘सरकारले नै छाडा विषयमाथि नियन्त्रण गर्न खोजिराखेको छ । अनि हाम्रो कानूनले नै रेडलाइट एरिया बनाउने कुरालाई स्वीकार गर्दैन, त्यसैले त्यस्तो प्रकारको कुरा मैले गरेको होइन,’ मन्त्री लम्सालले भने, ‘बरु स्पेसल पर्यटकीय जोन बनाएर आगन्तुक पर्यटकलाई गुणस्तरीय सेवासुविधा दिएर बढी पैसा खर्च गराउने ढंगको क्षेत्र बनाउन खोजेको हो ।’