
काठमाडौं – भारतको पश्चिम बंगालको कोलकातामा भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष अमित शाहको रोड शोका क्रममा भएको हिंसाले देशै तताएको छ । मंगलवार उक्त हिंसा भएको थियो ।
चुनावी वातावरणमा कोलकाताको सडकमा उत्पात मच्चिएको थियो र अहिले सत्ताधारी तृणमूल कांग्रेस (टीएमसी) ले यससम्बन्धी केही भिडियो सार्वजनिक गरेको छ । भिडियोमा केही मानिस आगजनी गरिरहेका देखिन्छन् ।
टीमएसीले भिडियो जारी गरेपछि भाजपाले पनि भिडियो जारी गरेर टीएमसीमाथि आरोप लगाएको छ ।
भिडियोमा भाजपाको झण्डा राखिएका केही गाडी सडकमा जाँदै गरेको अनि गेरु रंगको कमिज लगाएका, हातमा भाजपाको झण्डा बोकेका र शिरमा गेरु वस्त्र बाँधेका केही मानिस सडकमा उभिएका वाहनमा क्षति पुर्याइरहेको देखिन्छ । तीमध्ये केहीको हातमा लट्ठी छ भने केही चाहिँ ढुंगा हानिरहेका देखिन्छन् । सडकको किनार उभिएका वाहनमा आगो लागेको पनि देखिन्छ ।
भाजपाको सूचना प्रविधि सेलका प्रमुख अमित मालवीयले पनि भिडियो जारी गरेर टीएमसीमाथि अमित शाहको रोड शोमा हिंसा फैलाएको आरोप लगाए । अमित शाहको रोड शोमा टीएमसी समर्थकहरूले बाधा गर्दा हालत बिग्रिएको उनले लेखे ।
आइतवार हुन लागेको लोकसभा चुनावको अन्तिम चरणको मतदानअघि अमित शाहले कोलकातामा रोड शो गरेका थिए । रोड शोमा भाजपा कार्यकर्ताहरूले नाच्दै गाउँदै मोदी मोदीको नारा लगाए ।
उनीहरूले जय श्रीरामको नारा पनि लगाए । रोड शो सकिने बेलामा भाजपा र टीएमसीका कार्यकर्ता भिड्न थाले । यस क्रममा आगजनी पनि गरियो र ईश्वरचन्द्र विद्यासागरको मूर्ति पनि फुटाइयो ।
तृणमूल कांग्रेसले लोकतन्त्रलाई ध्वस्त पार्न खोजेको आरोप भाजपाले लगाएको छ भने टीएमसीले भाजपा कार्यकर्तामाथि उत्पात मच्चाएको आरोप लगाएको छ ।
एजेन्सी