२८ जेठ २०८३, बिहीबार
पुनःस्थापनाको पर्खाइ

द्वन्द्वअघि प्रहरी चौकी, गणतन्त्रमा भैंसीगोठ !

जेठ २, २०७६
द्वन्द्वअघि प्रहरी चौकी, गणतन्त्रमा भैंसीगोठ !

जनकपुरधाम – तत्कालीन नेकपा माओवादीले गरेको सशस्त्र द्वन्द्वअघिसम्म धनुषाको कमला नगरपालिका–३ लग्मामा प्रहरी चौकी थियो । द्वन्द्व चर्किएपछि चौकी विस्थापित भयो ।

चौकी विस्थापित भएपछि केही समय प्रयोगविहीन भएको प्रहरी चौकीले प्रयोग गरेको जग्गा अहिले स्थानीयले अतिक्रमण गरेर प्रयोग गरिरहेका छन् । देशमा गणतन्त्र आइसक्दा समेत प्रहरी चौकी पुनःस्थापित भएको छैन भने प्रहरी चौकीको जग्गामा भैंसीगोठ बनेको छ ।

प्रहरी चौकी विस्थापित भएपछि स्थानीय मन्जय यादवले जग्गामा भैंसीपालनदेखि अन्य काम गर्दै आएका छन् । सरकारी स्वामित्वको ७ कठ्ठा जमिनमा यादवले भैंसीपालन गर्ने गोठ र अन्य प्रयोगमा ल्याएका छन् ।
वडाध्यक्ष विशेश्वर यादवले भने, ‘प्रहरी चौकी गाउँबाट विस्थापित भएर गएपछि स्थानीय मन्जी यादवले गोठको रुपमा प्रयोग गर्दै आएका छन् ।’ भैंसीलाई राख्ने, पराल राख्नेजस्ता काम उनले गर्दै आएको यादवले बताए ।

गाउँमा धेरैजसो ऐलानी जग्गामा बस्ती रहेको छ । ‘प्रहरी चौकी अतिक्रमण मात्र हटाउनुभन्दा पनि गाउँको अन्य अतिक्रमण जग्गा पनि खाली गराउनुपर्ने हुन्छ,’ नगरपालिकाका नगर प्रमुख रामउदगार गोइतले भने, ‘त्यसका लागि नगरपालिकाले सर्वसम्मति ढंगले निर्णय गरेर मात्र अगाडि बढ्नुपर्ने हुनाले त्यस सम्बन्धमा समेत छलफल भइरहेको छ ।’

अतिक्रमण भएको स्थानमा पटक–पटक निरीक्षण गरिएको इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक शंकर चौधरीले बताए । ‘प्रहरी चौकी पुनःस्थापित भए जमिन खाली गरिदिने भनेर अतिक्रमण गरेका मन्जय यादवले बताउने गरेका छन्,’ उनले भने ।

गणतन्त्र घोषणापछि चौकी पुनःस्थापन गरिनुपर्ने मागसहित स्थानीय जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालय धनुषामा पटक–पटक प्रतिनिधि मण्डलसहित पुगेका छन् । चौकी पुनस्थापना नहुँदा शान्ति सुरक्षामा समेत समस्या भएको भन्दै चौकी पुनःस्थापनाका लागि नेकपाका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री रामचन्द्र झा प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रमुख जिल्ला अधिकारी र जिल्लाका प्रमुख प्रहरी उपरीक्षक कहाँ पुगेका थिए । झा त्यही गाउँका स्थानीय वासिन्दा पनि हुन् । तर प्रहरी चौकी पुनःस्थापना भएको छैन । सिरहा जिल्लासँग जोडिने गाउँ धनुषा जिल्लाको अत्यन्तै विकट गाउँ हो ।

‘गाउँमा अहिले बजार बनेको छ, व्यापारीले सुनचाँदीदेखि डेरी व्यवसाय, अन्य व्यापार व्यवसाय समेत गरेका हुनाले गाउँमै प्रहरी चौकी पुनःस्थापना हुनुपर्ने स्थानीयको माग छ,’ झाले भने, ‘पहिले पनि त्यहाँ प्रहरी चौकी रहेकाले अतिक्रमित जग्गा खाली गराएर प्रहरी चौकी पुनःस्थापना गरिनुपर्ने स्थानीयको माग छ ।’ प्रहरी चौकी विस्थापित भएपछि स्थानीय मन्जय यादवले फुसको घरटहरा बनाएर भैंसीगोठ बनाएका छन् ।

प्रहरी चौकी साविककै स्थानमा पुनःस्थापित भए स्थानीयले नै आर्थिक सहयोग जुटाएर प्रहरी चौकीको भवन समेत बनाइदिने झाले बताए । त्यतिसम्म योगदान गर्न स्थानीय तयार रहेको उनले बताए ।

नगरपालिकाको प्रमुख गोईत लग्माकै वासिन्दा हुन् । तर उनी भने प्रहरी चौकी गाउँमा पुनःस्थापना गर्नुभन्दा पनि नगरपालिकाको केन्द्र रहेको माचीमा प्रहरी चौकी स्थापना गरिनुपर्ने पक्षमा छन् । ‘नगरपालिकाको कार्यालयलाई समेत सुरक्षा प्रदान गर्नु आवश्यक छ,’ मेयर गोईतले भने, ‘त्यसैले हामीले नगरपालिकाको कार्यालयमा रहेको जग्गामा नै प्रहरी चौकी स्थापना होस् भन्ने चाहन्छौं ।’

प्रहरी चौकी पुनःस्थापना गर्ने स्थानबारे एकमत नभएपछि धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेल र प्रहरी उपरीक्षक शेखर खनाल समेतको टोलीले दुवै स्थानको स्थलगत अध्ययन र निरीक्षण समेत गरिसकेका छन् । ‘हामीले दुवै स्थानको स्थलगत अध्ययन गरेर आएका छौं,’ प्रजिअ कणेलले भने, ‘जिल्ला सुरक्षा समितिको बैठक बसेर कुन स्थान उपयुक्त हुन्छ भन्ने निर्णय गर्नेछौं ।’

salt training

कमेन्ट गर्नुहोस्