
काठमाडौं – मानिसले वस्तुको अत्यधिक उपयोग गर्दा संसारभरि फोहोरको डंगुर बढ्दै गएको छ । हामीले किनेको प्रत्येक सामानबाट केही भाग फोहोरमा फालिन्छ ।
फोहोरको पहाडले संसारभरि चुनौती खडा गरेको छ । नदी र समुद्रहरू फोहोर भएका छन् । शहरमा दुर्गन्ध फैलिएको छ ।
प्रयोग गरिएको सामानलाई फेरि प्रयोग गर्न सकिने अनि फोहोर नहुन् कुनै सुविधा छ त ?
अहिले कम्पनीहरूले फोहोर कम गर्नका लागि तीनवटा तरिका अपनाइरहेका छन् ः
रिसाइक्लिङ : कुनै पनि उत्पादनलाई फेरि पुरानै रूपमा ढालेर प्रयोग गर्नु । जस्तो, प्लास्टिकका बोतल ।
डाउनसाइक्लिङ : कुनै उत्पादनलाई अर्को वस्तुमा परिणत गर्ने । जस्तो, जुत्तालाई बास्केटबल कोर्ट बनाउन प्रयोग गर्ने ।
अपसाइक्लिङ : कुनै उत्पादनलाई त्यसभन्दा राम्रो वस्तु बनाउने । जस्तै, एकपटक प्रयोग हुने प्लास्टिकका बोतललाई पोलिस्टर कपडा बनाउने । त्यस्तो कपडा वर्षौंसम्म लगाउन सकिन्छ ।
यति भए पनि उत्पादनका क्रममा फोहोर उत्पन्न भइहाल्छ । निर्माणका क्रममा वा प्रयोगका क्रममा यसो हुन्छ । वस्तु उत्पादन गर्ने कारखानाहरूले ग्रीनहाउस ग्यास निकाल्छन् । यसले वातावरणलाई विनाश गर्छ । भारी धातुहरू हावामा घोलिएर प्रदूषण फैलाउँछन् । अनि फोहोर निस्किएर नदी र समुद्रमा मिसिन्छन् ।
तर फोहोर नगरिकन सामान उत्पादन गर्ने तरिका पनि विकसित भएको छ ।
केही कम्पनीहरूले क्रेडल टु क्रेडल नामक तरिका अपनाउन लागेका छन् ।
सन् २००२ मा क्रेडल टु क्रेडल नामक किताबमा माइकल ब्रोनगार्ट र विलियम म्याकडोनाले वस्तु उत्पादनको क्रान्तिकारी तरिकाको सपना देखेका थिए । उनीहरूले त्यही नामबाट एउटा कम्पनी खोलेका छन् । न्यूनतम फोहोर उत्पादन गर्ने कम्पनीहरूलाई उसले प्रमाणपत्र दिन्छ ।
यस अन्तर्गत जुनसुकै सामान बनाउँदा पनि प्राकृतिक तरिका अपनाइन्छ । यसको कुनै पनि बाईप्रोडक्ट फोहोर हुँदैन । प्रत्येक कुरालाई फेरि प्रयोग गर्न सकिन्छ ।
यो तरिका अपनाएर बनाइएको टीशर्टलाई गोल्ड स्ट्यान्डर्ड प्रमाणपत्र दिइन्छ । त्यस्तो टीशर्ट लगाउन छोडेपछि त्यसलाई मलखादका लागि प्रयोग गर्न सकिन्छ ।
यो टीशर्ट रंगाउनका लागि प्राकृतिक रंग उपयोग गरिन्छ । अनि यस टीशर्टका रेशाहरूले वातावरणलाई कुनै हानि गर्दैनन् ।
यी रेशाहरूलाई प्राकृतिक कपासबाट तयार पारिएको पुरानो कपडाबाट निकालिन्छ । त्यसपछि यिनीहरूलाई नयाँ डिजाइनमा ढालिन्छ र नयाँ टीशर्ट तयार पारिन्छ ।
सामान्यतया कम्पनीहरू पहिला एकरास कपडा उत्पादन गर्छन् अनि विज्ञापनको सहारा लिएर त्यसलाई बेच्नतिर लाग्छन् । तर यी टीशर्टहरू अर्डर आएपछि मात्र तयार पारिन्छन् । यसले गर्दा फाल्तु कपडाहरूको डंगुर लाग्न पाउँदैन । अहिले टीमिल नामक कम्पनीले यस्तो टीशर्ट तयार पारिरहेको छ ।
कम्पनीका अधिकारी मार्ट ड्रेक नाइटले अनेकौं कम्पनी मिलेर दश वर्षमा यो प्रविधि विकसित गरेको बताउँछन् । एकअर्कासँग प्रतिस्पर्धा गरिरहेका कम्पनी मिलेर संसारको भलो हुने काम गर्नु राम्रो हो ।
यो टीशर्ट प्रयोग गरेपछि रिसाइकल गर्न मिल्छ । टीशर्ट लगाउन मन लाग्न छोडेपछि कम्पनीलाई नै फर्काउन मिल्छ । यसो गर्दा टीशर्टको विज्ञापन गर्नुभन्दा सस्तो पर्छ । टीशर्ट फर्काउँदा पनि ग्राहकले पैसा पाउँछन् ।
बीबीसीबाट