०६ असार २०८३, शनिबार

नेपाल प्रहरी अस्पतालको स्वास्थ्य सेवाप्रति नागरिकको आकर्षण बढ्दो

नेपाल प्रहरी अस्पतालको स्वास्थ्य सेवाप्रति नागरिकको आकर्षण बढ्दो

तनहुँ- तनहुँ भानु नगरपालिका ८ बगालेगाउँकी २४ वर्षीया रचना रेग्मी घाँटीमा डल्लो आउनेरोगबाट पीडित भइन् । एक त गर्भवती अवस्थामा त्यसमाथि घाँटीमा डल्लो पलाएपछि निकै पीडा भयो । राजधानीका १ निजी र २ सरकारी अस्पताल पुग्दा पनि निको भएन । त्यसपछि निकै निराश बनेकी रेग्मी आफन्तको सहयोगले नेपाल प्रहरी अस्पताल पुगिन् । यहाँ आएपछि निकै सुधार भएको र अस्पतालको सेवा धेरै राम्रो रहेको प्रतिक्रिया दिँदै उनले भनिन्, 'कुनैपनि अस्पतालले जोखिम लिन चाहेनन् अनि यता आएर उपचार शुरू
गरियो, अहिले धेरै राम्रो भएको छ ।'

नेपाल सरकार मन्त्रिपरिषद्को २०७४ जेठ ४ गतेको निर्णयले २०७४ कात्तिक २६ गतेबाट प्रहरी अस्पतालमा औपचारिक रूपमा नागरिकको लागि स्वास्थ्य उपचार सेवा प्रदान गर्न थालिएको हो । यसअघि प्रहरी कर्मचारी, पूर्व प्रहरी कर्मचारी र तिनका परिवारको मात्र उपचार हुँदै आएको थियो । अस्पतालमा हाल आकस्मिक, बहिरङ्ग, अन्तरङ्ग (बेड भर्ना), प्याथोलोजी, रेडियोलोजी, आईसीयू, हेमोडायलाइसिस र सर्जरीलगायतका सेवा प्रदान गरिन्छ ।

उपचार लिने आउने बिरामीको संख्या दिन प्रतिदिन बढेसँगै नेपाल प्रहरी अस्पतालको स्वास्थ्य सेवाप्रति नागरिकको आकर्षण बढेको देखिन्छ । सेवा शुरूआतदेखि वैशाख मसान्तसम्म कूल १० हजार ३ सय ५९ जना नागरिकले सेवा प्राप्त गरेका छन् । अस्पतालमा डेन्टलतर्फ १ हजार ३ सय ६३, नाक, कान, घाँटीतर्फ ७ सय ६, इमरजेन्सीतर्फ २ सय ९३, आँखातर्फ ४ सय ६६, मेडिसिनतर्फ १ हजार ८ सय २६, नेफ्रोतर्फ ९६ जना, न्यूरोतर्फ ७ जनाले सेवा लिएका छन् । यसैगरी गाइनोतर्फ ९ सय ६९, अर्थोपेडिकतर्फ १ हजार २ सय ३४,

बालरोगतर्फ २ सय ३५, मानसिकतर्फ १ सय ६६, छालारोगतर्फ ७ सय ४०, सर्जिकलतर्फ ७ सय ५०, ल्याब्रोटरीतर्फ २ हजार ७०, फिजियोथेरापीतर्फ ५ सय ५६ जना, रेडियोलोजीतर्फ २ हजार, ९ सय २६ जना सेवाबाट लाभान्वित भएका छन् । साथै अन्तरंगसेवातर्फ जनरल वार्डमा १ सय ३७ र आईसीयूतर्फ २८ गरी जम्मा १ सय ६५ जनाले बेड भर्ना भई उपचार सेवा प्राप्त गरेका छन् ।

पूर्व तथा बहालवाला प्रहरी कर्मचारी र तिनका आश्रित परिवारलाई स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले विसं २०४० चैत २६ गते अस्पतालको स्थापना भएको हो । अहिले अस्पतालको सेवा वृहद स्वरुपतर्फ फैलँदो छ । शुरूमा २५ शैय्याबाट सेवा प्रारम्भ भएको अस्पतालमा हाल १ सय ५० शैय्या छन् । ३ सय शैय्याको अत्याधुनिक अस्पताल बनाउने तयारी अन्तिम चरणमा पुगेको छ । अस्पतालको सेवा विस्तार र गुणस्तर वृद्धिका सम्बन्धमा अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. दुर्गा थापा भन्छिन्, 'अस्पतालको ल्याब अन्तर्राष्ट्रिय आईएसओ स्टायाण्डर्डको छ । वरिष्ठ चिकित्सकहरूबाट स्तरीय सेवा उपलब्ध गराइन्छ । उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल कटिबद्ध छ । यसका लागि अन्य अस्पतालबाट विशेषज्ञ चिकित्सक ल्याएर समेत सेवा प्रदान गरिन्छ ।'

प्रहरी अस्पतालमा चिकित्सक, नर्स र अन्य कर्मचारी समेत गरी प्राविधिकतर्फ ५ सय ३६ र प्रशासनतर्फ १ सय ६ जना गरी जम्मा ६ सय ४२ जना प्रहरी कर्मचारी कार्यरत छन् । मानव स्वास्थ्य जस्तो संवेदनशील र अपरिहार्य सेवा आधुनिकतातिर उन्मुख छ । अस्पतालको सेवालाई गुणस्तरीय बनाउने पहल हुँदै आएको छ । यसका लागि सीमित दक्ष जनशक्ति र बजेटको परिधि जस्ता चुनौती छन् । यस्ता चुनौती सामना गर्दै उपचार सेवा थप भरपर्दो र स्तरीय बनाउनेबारे नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेल भन्छन्, 'अस्पतालको साधन स्रोत विज्ञताले धेरै नागरिकलाई समेत राम्रो र प्रभावकारी ढंगले सेवा प्रदान गर्न सकिन्छ भनेर सेवा शुरू गरिएको हो । सेवाप्रति नागरिक आकर्षित भइरहेको अवस्थामा थप जनशक्ति र साधन स्रोतको व्यवस्थापन गरी अझै प्रभावकारी सेवा प्रदान गर्न नेपाल प्रहरी प्रयासरत छ ।'

प्रहरी कर्मचारी र तिनका परिवारको स्वास्थ्यको धरोहर बन्दै आएको प्रहरी अस्पताल अब नागरिकको समेत आशाको केन्द्र बनेको छ । अस्पतालबाट स्वास्थ्य सेवा पाउँदा नागरिक खुशी छन् । अस्पतालको उपचार शुल्क सामान्य नागरिकको पहुँचमा छ । अन्य सरकारी अस्पताल सरह र कुनै त त्यो भन्दा पनि थोरै शुल्कमा अस्पतालले सेवा दिइरहेको मेडिकल डाइरेक्टर डा. थापाको भनाइ छ ।

नेपाल प्रहरीले विभिन्न प्रदेशमा पनि नागरिकलाई सेवा पुर्‍याउने लक्ष्य लिएको छ । सेवा विस्तार गरी विकटका जनतालाई स्वास्थ्य सेवा सहज बनाउन प्रहरीको प्रयास छ । प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेल भन्छन्, 'प्रदेशका लागि पनि आवश्यक जनशक्ति र साधनस्रोत व्यवस्थापन गर्ने योजना बनाइसकेका छौं ।'

स्त्री तथा प्रसुति रोगतर्फ सर्वसाधारण महिला बिरामीको चाप बढ्दो छ । अस्पतालको राम्रो वातावरण, प्रहरीको अनुशासन र स्वतस्स्फूर्त सेवाबाट अस्पतालको सेवामार्फत नागरिकले राम्रो लाभ लिएको स्त्री तथा प्रसुती रोग विभागका प्रमुख प्रहरी नायव महानिरीक्षक डा. आशा सिंह बताउँछिन् । सेवालाई गुणस्तरीय र विश्वासिलो बनाउदै उत्कृष्ट अस्पतालको रूपमा स्थापित गर्न अस्पताल टीम सदैव सक्रिय रहेको उनको भनाइ छ ।

अस्पतालमा उपचार गर्न आएका बिरामीहरूले अस्पतालको सेवा धेरै राम्रो र आर्थिक रूपमा सस्तो भन्दै खुशी व्यक्त गर्ने गरेको अस्पतालमा कार्यरत प्रहरी नायव उपरीक्षक डा. नवीनकुमार रौनियारको अनुभव छ । प्रहरी अस्पतालमा नागरिकको पनि उपचार हुन्छ भन्ने थाहा थिएन भन्दै पहिलोपल्ट आएको भन्ने बिरामीहरूको संख्या दैनिक थपिने गरेको डा.रौनियारको भनाइ छ । अस्पतालमा हुन नसक्ने उपचारको लागि रिफर गर्न खोज्दा यहीँ नै उपचार गरिदिए हुन्थ्यो भन्ने धेरैले चाहना राख्ने गरेको अनुभव अस्पतालमा कार्यरत प्रहरी
नायव उपरीक्षक डा. सविता सिंहको छ ।

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अस्पतालले विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्यकर्मी टोली खटाएर देशका विभिन्न ठाउँमा निस्शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । कालिकोटलगायतका दुर्गम र वृद्धाश्रम जस्ता स्थानमा शिविर सञ्चालन गरिएको छ । ती शिविरमा आवश्यकता र अस्पतालको क्षमता अनुसार नि:शुल्क औषधि समेत वितरण गर्ने गरिएको अस्पतालले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्