
काठमाडौं – बुद्ध जयन्तीको अवसरमा शनिवार नेपाल मानव धर्म सेवा समितिले सरसफाइ र सत्सङ्ग कार्यक्रम गरेको छ ।
ललितपुरको बुलु र काठमाडौंको गौशालामा छुट्टाछुट्टै कार्यक्रम गरी मनाइरहेको छ ।
अहिंसा र शान्तिका अग्रदूत गौतम बुद्धको २५६३ औं जयन्ती शनिवार संसारभर धुमधामसँग मनाइँदैछ ।
बुद्ध जयन्तीको पूर्वसन्ध्यामा शुक्रवार ललितपुरको चापागाउँको बुलुमा महान् सत्सङ्ग समारोह सम्पन्न गरिएको छ । चापागाउँस्थित बौद्ध बिहार स्तुपा प्राङ्गणमा सञ्चालित समारोहमा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन प्रमुख अतिथि रहेका थिए । समितिले औपचारिक समारोह शुरू हुनुअघि बज्रवाराही मन्दिरको भित्रि र बाहिरी क्षेत्र सफाइ गरेको छ ।
समारोहलाई सम्बोधन गर्दै मेयर महर्जनले भने, ‘बुद्धको जीवनीबाट हामीले शिक्षा लिनुपर्छ, नेपाल सधैं अहिंसाको मार्गमा हिँडिरहेको छ ।’

समितिका केन्द्र प्रमुख महात्मा चमेली बाइजीले शान्ति, सुख र आनन्दका लागि भगवान् बुद्धले देखाएको बाटोमा अगाडि बढ्नुपर्ने बताइन् । समाजमा अध्यात्म जागरणको अत्यन्तै ठूलो महत्त्व रहेको भन्दै उनले आफैंले आफैंलाई जान्न सके हरेक मानवमा बुद्ध बन्ने क्षमता रहेको बताइन् ।
यस्तै, समितिको केन्द्रीय आश्रम गौशालामा शनिवार बुद्ध जयन्ती भव्य रुपले मनाइएको छ । बुद्ध जयन्तीको अवसरमा आयोजना गरेको सत्सङ्ग समारोहमा समितिका महात्माले प्रवचन गरेका छन् ।
