
एजेन्सी- क्रिकेटको महाकुम्भ विश्वकपको १२ औं संस्करण यही मे ३० तारिखदेखि शुरू हुँदैछ । ४६ दिनसम्म चल्ने यस विश्वकपमा १० टीमको सहभागिता रहनेछ । यस क्रममा ११ भिन्दाभिन्दै स्थानमा कुल ४८ म्याच खेलाइनेछ ।
३० मे देखि जुलाई १४ सम्म चल्ने क्रिकेटको यो महाकुम्भमा हरेक खेलाडी उत्कृष्ट प्रदर्शनमा गर्नमा तल्लीन हुनेछन् । तर इंग्ल्याण्डको पिचमा केही यस्ता बलर पनि छन्, जसले ब्याट्सम्यानलाई पानी-पानी पार्न सक्छन् ।
आईसीसीको एकदिवसीय र्यांकिङको शीर्ष १० बलरमा ६ जना स्पिनर नै छन् । जसले यस पटकको विश्वकपमा धमाल मच्चाउन सक्ने क्रिकेट पण्डितहरूले बताएका छन् ।
राशिद खान
अफगानिस्तानका स्पिनर तथा एकदिवसीय क्रिकेटको र्यांकिङमा तेस्रो स्थानमा रहेका २० वर्षीय राशिद खानले कुनै पनि ब्याट्सम्यानलाई जुनसुकै बेला पनि पेभेलियनको बाटो देखाउन सक्ने हिम्मत राख्छन् । राशिदले हालसम्म ५७ वान-डेमा १५ को शानदार औसत र ३.९ को किफायती इकोनोमीमा कुल १२३ विकेट लिएका छन् । राशिदले यस पटकको विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्न सक्नेछन् ।
कुलदीप यादव
कुलदीप यादव भारतीय टीमका मुख्य बलर हुन् । उनलाई टीमको प्रमुख अस्त्रको रूपमा समेत लिइएको छ । विश्वकपमा कुलदीपबाट उत्कृष्ट बलिङको अपेक्षा गरिएको छ । वान-डे र्यांकिङमा सातौं स्थानमा रहेका कुलदीपले हालसम्म ४४ खेल खेलेका छन् । त्यस क्रममा उनले २१.७४ को औसतमा ४.९३ को इकोनोमी छ । उनले वान-डे मा कुल ८७ विकेट लिएका छन् ।
इमरान ताहिर
उमेरमा पाका दक्षिण अफ्रिकाका खेलाडी इमरान ताहिरलाई हल्का रूपमा लिनु हुँदैन । ४० वर्षीय ताहिरले हालसम्म ९८ वान-डे खेल खेलिसकेका छन् । उनले ४.६२ को इकोनोमी रहेको छ । हालसम्म उनले १६२ विकेट लिएका छन् । आईसीसीको बलरतर्फको र्यांकिङमा उनी चौथो स्थानमा छन् ।
युजवेंद्र चहल
भारतीय क्रिकेट टीममा छोटो समयमै सर्वाधिक सफल भएका बलर हुन्- युजवेंद्र चहल । उनी अफ्ट्यारो समयमा पनि विकेट निकाल्नमा माहिर मानिन्छन् । उनले हालसम्म भारतीय टीमका लागि कुल ४१ खेल खेलेका छन् । यस क्रममा उनले २४.६१ को औसतमा ४.८९ को इकोनोमीमा ७२ विकेट हात पारेका छन् । गुग्लीका लागि चर्चित चहल आईसीसी र्यांकिङको आठौं स्थानमा छन् ।
आदिल रशीद
इंग्ल्याण्डका स्पिनर आदिल रशीदको हालसम्मको रेकर्ड राम्रै छ । छोटो अवधिमै इंग्ल्याण्ड टीममा छाप छोड्न सफल रशीदले ८७ खेलमा ५.५९ को इकोनोमीमा कुल १३० विकेट चट्काएका छन् । उनी टीमका मुख्य बलर हुन् ।
-एजेन्सीहरूको सहयोगमा