
सुर्खेत –दैलेखको आठबीस नगरपालिकामा गत वैशाख २७ गते माइन्यूट च्यातिएपछि शुरू भएको विवाद जेठ ४ गते (शनिवार) समाधान भएको छ ।
नगरपालिकाका विभिन्न विषयमा असहमति राख्दै नगर उपप्रमुख दीपा बोहोरा नेतृत्वको टोलीले प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदीसँग रहेको माइन्युट मागेर च्यातेपछि नगर प्रमुख खड्गराज उपाध्याय अदालतमा मुद्दा दिन्छु भनेर दैलेख सदरमुकाम गएका थिए ।
सदरमुकाममा विभिन्न राजनीतिक दल, जिल्ला समन्वय समिति, प्रमुख जिल्ला अधिकारी लगायत सहभागी सर्वपक्षीय बैठकले सहमति गरेर जाने निर्णय गरेपश्चात जेठ ४ गते आठबीस नगरपालिकाको केन्द्र राकम कर्णालीमा कार्यपालिकाको बैठक बोलाइएको थियो ।
उक्त बैठकमा जिल्ला समन्वय समितिका प्रेम थापा, जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटा, नेपाल कम्युनिष्ट पार्टीका प्रतिनिधि, नेपाली कांग्रेसका प्रतिनिधि र विवादित पक्षहरूको बैठक बसेको थियो ।
‘बैठकमा उपमेयर लगायतले गल्ती भएको भन्दै आत्मालोचना गर्ने निर्णय भएको छ,' नेकपाका जिल्ला सचिवालय सदस्य हर्कबहादुर शाहीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बैठकमा आगामी दिनमा मिलेर जाने र आठबीस समृद्धिका लागि सहकार्य गर्दै जाने सहमति भएको छ ।’
उनका अनुसार नगर उपप्रमुख दीपा बोहोरा, वडा नं. ८ का वडा अध्यक्ष मुक्तिप्रसाद उपाध्याय र वडा नं. २ का वडा अध्यक्ष पूर्णप्रसाद खनालले आइन्दा यस्ता गतिविधि नदोहोर्याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
बैठकमा प्रिमुख जिल्ला अधिकारीले सरकारी सम्पत्ति हिनामिना गर्ने र च्यात्ने जो सुकैलाई कानूनको कठघरामा उभ्याउने कडा अभिव्यक्ति दिएको उनको स्टाटसमा उल्लेख छ ।