२६ असार २०८३, शुक्रबार

जोन बोल्टन : संसारका सबभन्दा खतरनाक व्यक्ति

जोन बोल्टन : संसारका सबभन्दा खतरनाक व्यक्ति

अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले भेनेजुएलामा निकोलास मडुरोको सरकारलाई सत्ताच्युत गर्नका लागि सैन्य योजनाको माग गर्दा राष्ट्रपति डोनल्ड ट्रम्पले आनाकानी गरे । बोल्टनले आफूलाई युद्धतर्फ धकेल्न खोजेको ट्रम्पको सोच छ । 

इरानमा सत्ता परिवर्तन गराउन बोल्टनले माग राखेपछि पेन्टागनले मध्यपूर्वमा एक लाख २० हजार सैनिक तैनाथ गर्ने योजना बनायो । तर ट्रम्पले फेरि आनाकानी गरे । 

‘उनी सत्ता परिवर्तनको यो योजनालाई सहज मान्दैनन् । सन् २००३ मा सद्दाम हुसैनलाई इराकमा सत्ताच्युत गर्नका लागि गरिएको अमेरिकी आक्रमणको प्रतिध्वनि उनले यसमा भेट्छन्,’ नाम नबताउने एक अधिकारीले द वाशिङटन पोस्टलाई बताए ।

भेनेजुएलामा अमेरिकाले समर्थन गरेका विपक्षी नेता खुवान गुआइडोले अप्रिल ३० मा विद्रोह उठाउन खोज्दा ट्रम्पले त्यसमा समर्थन जनाएनन् । बोल्टन र परराष्ट्रमन्त्री माइक पम्पिओले भेनेजुएलामा रुसको संलग्नताले खतरा निम्त्याएको भन्दा ट्रम्पले यसलाई वाहियात मान्दै भ्लादिमिर पुटिन ‘भेनेजुएलामा संलग्न हुन नचाहिरहेको, भेनेजुएलामा केही सकारात्मक भएको मात्र उनले देख्न चाहेको’ बताए ।

भेनेजुएलामा विद्रोह असफल भयो र बोल्टनको ध्यान इरानतर्फ केन्द्रित भयो । 

केही दिनअघि बोल्टनले तेहरान सरकारलाई ‘अमेरिकी चासो वा साझेदारहरूको चासोमाथिको कुनै पनि आक्रमणलाई भयंकर बलले प्रतिकार गरिने’ भने । बुधवार ट्रम्पले चाहिँ सम्झौताको कुरा झिक्दै भने, ‘इरानले फेरि वार्ता गर्न चाहन्छ भन्नेमा म विश्वस्त छु ।’

राष्ट्रिय सुरक्षा सल्लाहकार बोल्टन युद्ध चाहन्छन् तर उनका बोस ट्रम्प युद्ध चाहँदैनन् । ट्रम्पले ठूला धम्की पनि दिने गरेका छन् अनि युद्धविरोधी भनाइ पनि राख्ने गरेका छन् र यो उनको राजनीतिक रणनीति हो । तर बोल्टनको जागिर धरापमा छैन किनकि ट्रम्पका लागि कडा कुरा गर्नु भनेको राम्रो राजनीति हो । बेइज्जती, धम्की, प्रतिबन्ध र गोप्य कारवाहीसम्म ठीक छ तर त्यसले बन्दूक पड्काउने युद्ध नै गराउनुभएन ।

अहिले वाशिङटनको राजनीतिमा पनि परिवर्तन आएको छ । सैन्य जर्नेल म्याट्टिस र मकमास्टरले राजीनामा दिइसकेका छन् र तिनको ठाउँमा बोल्टन र बोइङका पैरवीकर्ता प्याट्रिक शानाहान आएका छन् । बोल्टनले भेनेजुएला र इरानमा सत्ता परिवर्तन गराउन चाहेको भए पनि ट्रम्प एक्लैले उनलाई रोकिरहेका छन् । 

केहीले चाहिँ यो स्थितिलाई तर्साउने र फकाउने किसिमको ट्रम्पको वैश्विक सम्झौता नीति मानेका छन् । तर बोल्टन यसरी सोच्दैनन् । अमेरिका र उसका शत्रुबीचको कुनै पनि सम्झौता मननयोग्य छैनन् भन्ने उनको धारणा छ । 

ट्रम्पले सरकार चलाउन थालेपछि वाशिङटनका अधिकारीहरूले रक्षामन्त्री जेम्स म्याट्टिस र राष्ट्रिय सुरक्षा सल्लाहकार एचआर मकमास्टरले वयस्क व्यक्तिसरह ट्रम्पलाई नियन्त्रणमा राख्ने आशा गरेका थिए । ट्रम्पले बाहिरी मुलुकमा हस्तक्षेप गर्न नचाहने प्रवृत्तिलाई निरुत्साहित गर्न यी जर्नेलहरूले सक्छन् भन्ने आशा गरिएको थियो । 

ट्रम्पले ओबामा जस्तै गरी युद्धमा संलग्न हुन नचाहने दृढता राख्ने गरेका छन् र त्यसलाई नजरअन्दाज गर्न मिल्दैन । हिलारी क्लिन्टनले सीआईएको एक अर्ब डलर पर्ने गोप्य हतियार हस्तान्तरण कार्यक्रम टिम्बर साइकामोरको पक्षमा कडा पैरवी गरेकी थिइन् । उनले सिरियाबाट दुई हजार अमेरिकी सैनिकलाई कदापि फिर्ता बोलाउने थिइनन् । ट्रम्पले गत डिसेम्बर महिनामा सैनिक फिर्ता बोलाए । 

तत्कालीन राष्ट्रपति बाराक ओबामाले सिरियामा अमेरिकाको प्रत्यक्ष संलग्नतालाई अस्वीकार गरेको भए पनि टिम्बर साइकामोरलाई भने उनले स्वीकृति दिए । यो कार्यक्रमको उद्देश्य ‘नरम’ विद्रोहीहरूलाई सहायता गर्नु थियो तर दुर्भाग्यवश त्यस्ता विद्रोहीको अस्तित्वै थिएन । यो कार्यक्रमका कारण देशमा हतियारको बाढी नै आयो र तीमध्ये कैयौं हतियार अलकायदा र त्यसका सन्तानको हातमा पुग्यो । ती समूहलाई इरानको खाडीमा अमेरिकी साझेदारहरूले लगानी गरेका थिए । 

ट्रम्पले सन् २०१७ को ग्रीष्ममा टिम्बर साइकामोर अन्त्य गरे । उनले सैन्य फिर्तीको आदेश दिएपछि सन् २०१८ को डिसेम्बर महिनामा म्याट्टिसले राजीनामा दिए अनि यसले गर्दा इरान हान्नका लागि बोल्टनले ठाउँ पनि पाएनन् । बोल्टनले ट्रम्पको यो आदेशलाई उल्ट्याउन कोशिश गरिरहेका छन् र आंशिक सफल पनि भएका छन् । लगभग ४०० अमेरिकी सैनिक अझै पनि सिरियामा छन् । 

भेनेजुएलाको हकमा ट्रम्प आफैंले अगस्ट २०१७ मा सैन्य विकल्पको कुरा झिकेका हुन् । त्यतिखेर बोल्टन ट्रम्प प्रशासनमा आबद्ध पनि भएका थिएनन् । बोल्टनले पम्पिओसँग मिलेर युद्ध चर्काउन चाहे अनि मडुरो हट्नैपर्छ र उनको समय सकियो लगातार भनिरहे । अमेरिकाले सैन्य हस्तक्षेप गरेमा मडुरो हटाउने लक्ष्यमा घात हुन्छ भन्ने वास्तविकता बुझेर ट्रम्प अहिले त्यो विकल्पको प्रतिकार गरिरहेका छन् । 

युद्ध मन नपराउने ट्रम्पको समस्या तीन किसिमको छ । 

पहिलो, तटस्थ भएर भन्नुपर्दा बोल्टन युद्धपिपासु व्यक्ति हुन् । उनले इरान र उत्तर कोरियामाथि आक्रमणको पक्ष लिएका छन् जसरी उनी सन् २००३ मा इराकमाथि आक्रमणको पक्षमा थिए । उक्त आक्रमणको खतरनाक परिणामले उनको सोचमा कुनै तात्त्विक असर पारेन । उनी आफ्ना युद्ध योजनामा कसैको पनि सल्लाह रुचाउँदैनन् र सल्लाह पनि पाउँदैनन् । उनको यो नीतिले काम गरेन भने उनी बरू विषय परिवर्तन गर्छन्, दिशा परिवर्तन गर्दैनन् । 

दोस्रो, बोल्टनका नीतिहरू उनी आफैंले बनाउने हुन् र सरकारका अन्य क्षेत्रबाट उनले कुनै इन्पुट पाउँदैनन् । विशेषगरी सेनालाई पर्याप्त सूचना दिइँदैन । भेनेजुएलामा बोल्टनले उक्त देशको राजनीतिक वास्तविकता बुझ्नै सकेनन् र शाख जोगाउन सैन्य हस्तक्षेपको विकल्प मात्र बाँकी राखे ।

तेस्रो र सबभन्दा महत्त्वपूर्ण कुरा, ट्रम्पका क्षेत्रीय साझेदार इजरायल र साउदी अरब पनि आफ्नो क्षेत्रीय शत्रु इरानविरुद्ध कारवाही चलाउन सिफारिश गर्न थालेका छन् । 

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सन् २०११ मा इरानमाथि आक्रमण गर्नका लागि आधिकारिक स्वीकृति खोजेका थिए तर ओबामाले त्यसको विरोध गरे । अहिले ओबामा छैनन् र ट्रम्पले नेतान्याहुलाई उनले खोजेको सबै कुरा दिइरहेका छन् : जेरुसेलममा अमेरिकी दूतावास र गोलान हाइट्सको पहिचान । अनि इरानको भौतिक निर्माणलाई ध्वस्त पार्न उसमाथि एकपक्षीय आक्रमण गर्न किन नखोजोस् त इजरायलले ?

साउदी अरब त इरानविरुद्ध खुलमखुला युद्धको आह्वान गर्छ । अघिल्लो साता चारवटा तेलका ट्यांकरमा आक्रमण भएर क्षति पुगेपछि अमेरिका र साउदी अरबले इरानमाथि त्यसको दोष लगाए । किन ? द न्युयोर्क टाइम्सले लेखेअनुसार, ‘इजरायली जासूसी संस्थाले अमेरिकालाई केही दिनअघि साउदी जहाजमा इरानले आक्रमण गर्न चाहेको जानकारी दिएको थियो ।’ न्युयोर्क टाइम्सका अनुसार, यो सूचना ‘एक वरिष्ठ मध्यपूर्वी जासूसी अधिकारी’ बाट आएको थियो । 

एक इरानी संसदीय प्रवक्ताले यी आक्रमण ‘इजरायलले गरेको’ बताए । तर कसले आक्रमण गरेको हो भन्ने कुनै ठोस प्रमाण पाइएको छैन ।

तर साउदी युवराज मोहम्मद बिन सलमानका भाइले चलाउने साउदी पत्रिका अरब न्युजका अनुसार, बिन सलमान इरानमाथि ‘सर्जिकल स्ट्राइक’ को आह्वान गरिरहेका छन् । 

ट्रम्पले बोल्टनलाई एकान्तमा गाली गर्नु एउटा कुरा भयो । तर नेतान्याहु र बिन सलमानले युद्धको माग गरे भने ट्रम्पलाई त्यो टार्न गाह्रो हुन्छ । अनि बोल्टन यसै होला भन्ने आशा गरिरहेका छन् । 

त्यसैले बोल्टन संसारकै सबभन्दा खतरनाक व्यक्ति हुन् भन्नु अतिशयोक्ति हैन । ट्रम्पले चाहेमा मात्र उनले यो उपाधि गुमाउन सक्छन् । 

एसिया टाइम्समा प्रकाशित जेफर्सन मोर्लीको विश्लेषण

salt training

कमेन्ट गर्नुहोस्