१६ असार २०८३, मंगलबार

त्रिवि धावनमार्ग स्तरोन्नतिः ‘रनवे रिह्याब’ को काम तीव्र गतिमा

जेठ ७, २०७६
त्रिवि धावनमार्ग स्तरोन्नतिः ‘रनवे रिह्याब’ को काम तीव्र गतिमा
फाइल तस्बिर

        काठमाडौँ–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नति ‘रनवे रिह्याब’ को काम तीव्र गतिमा भइरहेको छ ।

    धावनमार्गको हालसम्म दुई हजार २२० मिटर स्तरोन्नति सकिएको विमानस्थलले जनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले गत चैत १८ देखि धावनमार्ग पूर्णरुपमा मर्मतको काम शुरु गरेको थियो । एक महीना २१ दिनको अवधिमा दुई हजार २०० मिटरभन्दा बढी स्तरोन्नतिको काम सकिएको छ । 

    आयोजनाका निर्देशक बाबुराम पौडेलले धावनमार्ग मर्मतको काम युद्धस्तरमा अघि बढेको र निर्धारित समय अगाडि नै काम सकिने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार धावनमार्गको पिच परिवर्तनका लागि आवश्यक सामग्रीको व्यवस्थापन तथा पर्याप्त जनशक्ति परिचालन गरिएको छ । मर्मतको काम बढीमा ९० दिनभित्र सकिने आयोजना प्रमुख पौडेलको भनाइ थियो ।

    नेपालको उड्डयन इतिहासमै पहिलोपटक विमानस्थलको धावनमार्ग पूर्ण रुपमा पिच परिवर्तन गर्न लागिएको हो ।धावनमार्ग स्तरोन्नतिको काम राति १० बजेदेखि बिहान ८ बजेसम्म सञ्चालन भइरहेको छ । स्तरोन्नतिको काम थालिएको गत चैत १८ गतेदेखि तीन महीनासम्म दैनिक १० घण्टा उडान बन्द गरेर काम गरिएको छ । आयोजनाका सूचना अधिकारी दीपेन्द्र श्रेष्ठले दिनुभएको जानकारी अनुसार विमानस्थलको धावनमार्ग स्तरोन्नतिको काम सोमबारसम्म दुई हजार २२० मिटर सकिएको छ । अब ८३० मिटर बाँकी छ । स्रोत साधन र जनशक्तिको प्रभावकारी परिचालन गरिएकाले स्तरोन्नतिको काममा कुनै समस्या नरहेको श्रेष्ठले बताउनुभयो । 

    मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पिच पटक–पटक उप्किँदा खासगरी वर्षा याममा बढी समस्या उत्पन्न हुने गरेको थियो । नियामक निकाय प्राधिकरणका अनुसार धावनमार्ग जिरो टु देखि १६ सय मिटरसम्म अत्यन्त बिग्रिएको अवस्थामा थियो । 

    सन् १९७५ मा निर्माण गरिएको विमानस्थल धावनमार्ग यसअघि मर्मत गरेर सञ्चालन गरिँदै आएकोमा पहिलोपटक पिच परिवर्तन गर्न लागिएको हो । धावनमार्ग मर्मत (कालोपत्र) जिरो टु बाट शुरु गरिएको थियो । हरेक दिन ८० देखि १०० मिटर धावनमार्ग जोतेर त्यसबाट निक्लेको सामान फालेपछि विभिन्न तहमा निर्माण सामग्री राखेर सतहसम्म ल्याएर बिहान ८ बजे सञ्चालनका लागि तयार गरिन्छ । 

    धावनमार्ग स्तरोन्नतिका लागि क्यानले चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनीयरिङ कर्पोरेशनसँग निर्माण सम्झौता गरेको थियो । निर्माण कम्पनीले मूल्यअभिवृद्धि करसहित रु चार अर्ब २७ करोडमा धावनमार्ग परिवर्तनका लागि सम्झौता गरेको छ । उक्त कार्यको प्राविधिक रेखदेखको लागि परामर्शदाता कोरियन कम्पनी योसिन इञ्जिनीयरिङ कर्पोरेशन कोरियाले जिम्मा पाएको छ ।

    गौचरनबाट शुरु भएको विमानस्थलको ७० वर्षे इतिहासमा निकै उतारचढाव व्योहोरिसकेको छ । सन् १९७५ मा स्तरीकरण गर्दै धावनमार्गलाई तीन हजार ५० मिटर लम्बाइ र ४५ मिटर चौडाइको बनाएपछि उक्त विमानस्थलमा प्रायः सबै प्रकारका राष्ट्रिय र अन्तर्राष्ट्रिय विमान उडान र अवतरण गर्न सकिएको हो । हाल यो विमानस्थलबाट साना १९ सिटरदेखि बोइङ–७७७ जस्ता ठूला विमान उडान अवतरण हुँदै आएका छन् । 

    सन् २०१९ देखि २०११ सम्म विमानस्थलको धावनमार्गको ‘ओभर ले’ गरिएको थियो । सन् २०१३ देखि पिच उप्किने समस्या आयो । त्यसको अस्थायी समाधान गरिरहेका बेला सन् २०१५ को भूकम्पले सतहमा खासै क्षति नपु¥याएको भए पनि भित्री तहमा समस्या उब्जेको विज्ञहरुले बताएका थिए । अन्तर्राष्ट्रिय परामर्शदाताबाट पनि रनवे तथा ट्याक्सी वेका ‘पेभमेन्ट’ उप्काएर अन्तर्राष्ट्रियस्तरमा प्रचलनमा रहेको नयाँ प्रविधि प्रयोग गरी नयाँ पेभमेन्ट राखी रिह्याब गर्न सुझाएका थिए ।

    अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिले १०० बढी अन्तर्राष्ट्रियसहित दैनिक सरदर ४०० उडान हुन्छन् । विमानस्थलका निमित्त महाप्रबन्धक सुरेशमान सिंहले धावनमार्ग मर्मतको अवधिमा १५ प्रतिशत मात्रै उडान कटौती भएको जानकारी दिनुभयो । धावनमार्गको मर्मतपछि सुरक्षित उडान अवतरणमा सहज हुनुका साथै विमान ‘होल्ड’ हुने समस्याको पनि अन्त्य हुने विमानस्थलले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्