०२ साउन २०८३, शनिबार

मिडिया काउन्सिल विधेयक फिर्ता लिन चेतावनी दिँदै कांग्रेसले दियो सडक र सदन संघर्षको चेतावनी

मिडिया काउन्सिल विधेयक फिर्ता लिन चेतावनी दिँदै कांग्रेसले दियो सडक र सदन संघर्षको चेतावनी
फाइल तश्वीर

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता गर्न सरकारलाई चेतावनी दिएको छ ।

प्रेस स्वतन्त्रता विरोधी विधेयक संसदमा अगाडि बढाउन नदिने कांग्रेसले बताएको छ । 

प्रतिनिधि सभाको बुधवार बसेको बैठकमा सभामुखसँग समय लिएर कांग्रेसकी सचेतक पुष्पा भुसालले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने विधेयक कुनै पनि हालतमा पारित गर्न नदिने बताएकी हुन् । 

‘सरकारले संविधानको मूल्य मान्यताविपरीत मिडिया काउन्सिल विधेयक ल्याएर राज्य नियन्त्रित कानून र प्रेस बनाउन खोजेको छ । सरकारको विरुद्धमा कुनै प्रेसले अभिव्यक्तिले दिएमा र आवाज उठाएमा दबाउन र लोकतन्त्रलाई भएको वातावरण सिर्जना गर्न विधेयक ल्याएको छ, यसको घोर भत्र्सना गर्छौं,’ भुसालले भनिन् ।

स्वतन्त्रता विरोधी विधेयकलाई पारित गर्न नदिने कांग्रेसले चेतावनी दिएको छ । ‘सरकारको मुहारमा गलत नियत देखियो, जुन किसिमबाट विधेयक आयो यसले सरकारमा शक्तिको भोक जागेको अनुभूति गरेका छौं,’ भुसालले भनिन्, ‘प्रेस स्वतन्त्रता अंकुश हुने गरी ल्याएको विधेयक कुनै हालतमा संसदबाट अगाडि बढाउन सक्दैनौं ।’

पत्रकारको अधिकार निषेध गर्ने गरी विधेयक ल्याएमा सडक र संसदबाट आन्दोलन गर्ने उनले चेतावनी दिइन् । ‘त्यो काउन्सिल विधेयक फिर्ता लैजान र संसदमा प्रवेश नगराउन चेतावनी दिन्छौं,’ उनले भनिन् ।

सभामुख कृष्णबहादुर महराले यस विषयमा सरकारको यथेष्ट ध्यानाकर्षण भएको विश्वास व्यक्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्