
काठमाडौं – भारतमा लोकसभा चुनावको परिणाम आउनुअघि भारतीय जनता पार्टी नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) का नेताहरूलाई भाजपा अध्यक्ष अमित शाहले रात्रिभोजमा मंगलवार बोलाए ।
सबैप्रति आभार प्रकट गर्न तथा आफूहरू सँगै रहेको सन्देश दिन यो रात्रिभोज आयोजना गरिएको थियो ।
अमित शाहले चुनाव प्रचारको अन्तिम दिनमा पनि भाजपासँग थप अन्य दलहरू जोडिएको हेर्न चाहेको बताएका थिए ।
चुनावको परिणाम आउनुअघि डाकिएको यो बैठकका अन्य उद्देश्य पनि छन् । पहिलो, एक्जिट पोलले भाजपा एक्लैले बहुमत ल्याउने संकेत दिएको भए पनि सरकार एनडीएकै बन्नेछ ।
दोस्रो, चुनावका बेलामा एनडीए घटकहरूमा देखिएको एकता चुनावी स्टन्ट मात्र नभई भाजपाले आगामी पाँच वर्षसम्म यसलाई कायम राख्न चाहेको भनी मतदातालाई सन्देश दिन पनि बैठक डाकिएको थियो ।
शिवसेना प्रमुख उद्धव ठाकरे लन्डनमा थिए र उनी आउने नआउने निश्चित थिएन । त्यसै पनि उद्धव कमै मात्र दिल्ली आउँछन् ।
शिरोमणि अकाली दलका प्रमुख प्रकाश सिंह बादलको साटो सुखबीर बादल बैठकमा आउने कुरा थियो । जनता दल युनाइटेडका नेता नीतीश कुमार पनि बैठकमा आउन धेरै उत्सुक देखिएनन् ।
परिणाम आउनुअघि उनी सार्वजनिक मञ्चमा देखिन नचाहेको बताइएको छ । चुनावभरि उनले मिडियासँग कुराकानी गरेनन् ।
भाजपा अध्यक्ष अमित शाहले यी सबै नेतालाई बैठकमा ल्याउन खोजे । बैठकमा प्रधानमन्त्री र सरकारको पाँच वर्षे कार्यकालको प्रशंसा गरियो ।
बैठकमा एनडीएका ३६ दलका नेताले भाग लिएका थिए र तीनजनाले पत्र पठाएर समर्थन जनाएका थिए । बैठकमा सबै कुरा राम्रै थियो तर एक किसिमको मौनता पनि थियो ।
भाजपाबाहेक सबैको मनमा परिणाम कतै एक्जिट पोलभन्दा विपरीत आउने त हैन भन्ने थियो ।
एक्जिट पोलका परिणाम नै वास्तविक परिणाममा परिणत भएमा भाजपाका सहयोगी दल उसको कृपापात्र हुनेछन् ।
कुन दलबाट कतिजना मन्त्री बन्ने हुन् र उनीहरूले कुन मन्त्रालय पाउने हुन् भन्ने कुरा नरेन्द्र मोदी र अमित शाहले निर्धारण गर्नेछन् ।
सहयोगी दलहरूले गुनासोको अवसर पनि पाउने छैनन् र शक्तिहीन हुनेछन् । यस्तो स्थितिमा सबभन्दा बढी समस्या बिहारका मुख्यमन्त्री नीतीश कुमार र शिवसेनाका उद्धव ठाकरेलाई पर्नेछ ।
उनीहरूलाई केन्द्रीय मन्त्रिमण्डलमा आफ्ना नेता बढी नपरेको चिन्ता भन्दा पनि विधानसभा चुनावको धेर चिन्ता छ । महाराष्ट्रमा सन् २०१९ को अन्त्यतिर अनि बिहारमा सन् २०२० को फेब्रुअरीमा विधानसभा चुनाव हुँदैछ ।
अघिल्लो विधानसभा चुनावमा भाजपाले शिवसेनासँग गठबन्धन तोडेर एक्लै चुनाव लड्यो र प्रदेशको सबभन्दा ठूलो दल बन्यो । भाजपा एक्लैले लोकसभामा बहुमत ल्यायो भने विधानसभा चुनावमा आफ्नो शक्ति क्षीण हुने ठर ठाकरेलाई छ ।
नीतीश त उद्धवभन्दा पनि बढी चिन्तित छन् । लोकसभा चुनावमै पनि उनले भाजपा बराबर सीटमा चुनाव लड्न पाएनन् ।
सन् २०१७ मा एनडीएमा फर्किएपछि उनले सम्बन्धमा गाँठो परेको अनुभव गरेका छन् ।
उनले भाजपासँग सम्बन्ध तोड्दा त्यो अटल आडवाणीको पार्टी थियो । तर उनी फर्किंदा भाजपा मोदी र शाहको पार्टी बनेको छ । एनडीएमा उनको शक्ति पहिले जस्तो नरहेको नीतीशले बुझिसकेका छन् । भाजपाले उनलाई घोषणापत्र पनि जारी गर्न दिएन ।
प्रधानमन्त्रीसँगको चुनावी सभामा मञ्चमा बसेका सबै नेताले मोदीसँग मिलेर भारत माता की जय भन्दै नारा लगाउँदा नीतीश एक्लै कुुर्सीमा बसिरहे । उनी एनडीएमा त छन् तर सहज अनुभव गरिरहेका छैनन् ।
एक्जिट पोल गलत प्रमाणित भए र त्रिशंकु लोकसभा आयो भने यो स्थिति उद्धव र नीतीशका लागि गजब हुन्छ ।
यी दुवै नेता दुवै पक्षसँग सम्झौता गर्न सक्ने स्थितिमा हुनेछन् । रामविलास पासवानले पनि खेमा परिवर्तन गनए सक्छन् । एनडीएका ठूला सहयोगी दलमा अकाली दलले मात्र भाजपाको साथ छोड्दैन ।
मोदी र शाहलाई यो कुरा थाहा छ । त्यसैले लोकसभा चुनावअघि नै उडिसाका मुख्यमन्त्री नवीन पटनायक, तेलंगानाका मुख्यमन्त्री चन्द्रशेखर राव अनि वाईएसआर कांग्रेसका जगनमोहन रेड्डीसँग उनीहरूले एक खाले सहमति बनाइसकेका छन् । आवश्यक परेमा उनीहरूले भाजपालाई साथ दिन सक्छन् ।
पटनायक र रेड्डीलाई राष्ट्रिय राजनीतिमा आउने महत्त्वाकांक्षा छैन । केसीआरलाई आफ्नो सीमा थाहा छ र उनलाई मोदीसँग काम गर्न समस्या छैन ।
मोदी र शाहको आत्मविश्वासले चाहिँ उनीहरू आफूले खोजेको जस्तो परिणाम आएकोमा ढुक्क भएको देखिन्छ ।
त्यसैले गर्दा शायद सरकारका सबै विभागमा प्रेजेन्टेसनको तयारी चलिरहेको छ । सरकारको आगामी १०० दिनको एजेन्डा तयार भइरहेको छ ।
अनि बजेटको तयारी पनि गरिँदैछ । सन् २००४ को मे २३ को स्थिति नदोहोरिनेमा भाजपा ढुक्क छ ।
बीबीसी हिन्दीबाट