
काठमाडौं – भारतको अरुणाचल प्रदेशमा लडाकूहरूले मंगलवार बहालवाला विधायक तिरोङ अबोह तथा १० अन्य व्यक्तिको गोली हानी हत्या गरेका छन् ।
घटना तिराप जिल्लामा भएको हो । आरोपित लडाकूहरूले अबोहको सुरक्षा दस्तालाई असमबाट आफ्नो निर्वाचन क्षेत्र गइरहेको बेलामा एम्बुशमा पारेको थियो ।
पैंतालीस वर्षीय अबोह नेसनल पीपुल्स पार्टी (एनपीपी) का सदस्य थिए र खोन्सा पश्चिम निर्वाचन क्षेत्रबाट फेरि चुनाव लडिरहेका थिए । उनले निर्वाचन अभियानमा राजनीतिक कार्यकर्ताहरूलाई इसक–मुइवा लडाकू समूहका मानिसले तारो बनाएको भनी उनीहरूको आलोचना गरिरहन्थे ।
अरुणाचल प्रदेशको ६० सदस्यीय विधानसभाको चुनाव लोकसभा चुनावसँगै गरिएको थियो ।
एनपीपी उत्तरपूर्वमा भाजपाको साझेदार हो र उसले मेघालयमा गठबन्धन सरकारको नेतृत्व गरेको छ । मेघालयका मुख्यमन्त्री कोनराड साङ्माले आक्रमणको भर्त्सना गरे र गृहमन्त्री राजनाथ सिंह तथा प्रधानमन्त्री नरेन्द्र मोदीलाई घटनामाथि कारवाही गर्न आग्रह गरे ।
अरुणाचल प्रदेशका तिराप, चाङलाङ र लोङडिङ जिल्लामा हिंसा भइरहने भएकाले सुरक्षाकर्मीलाई असीमित अधिकार दिने अफ्स्पा लागू गरिएको छ । यहाँ एनएससीएन समूहका विभिन्न गुट सक्रिय छन् र उल्फा समूह पनि सक्रिय नै छ ।
दी इन्डियन एक्सप्रेसबाट