१२ साउन २०८३, मंगलबार

फेरि एकपटक सरकार चलाउने स्थितिमा मोदी, भाजपा झनै बलियो

फेरि एकपटक सरकार चलाउने स्थितिमा मोदी, भाजपा झनै बलियो

काठमाडौं – भारतमा लोकसभा चुनावको मतपरिणामका शुरूआती रुझान स्पष्ट हुँदै जाँदा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको एनडीएले दोस्रोपटक कार्यकाल चलाउने लक्षण देखाएको छ । अग्रस्थानमा रहेको आधारमा भाजपा नेतृत्वको गठबन्धनले स्पष्ट जीत हासिल गर्ने देखिएको छ । 

पछिल्लो रुझानमा एनडीएले ३२० भन्दा बढी सीटमा अग्रता लिइरहेको देखिन्छ भने भाजपा २७५ सीटमा अघि देखिन्छ । 

अहिलेको ट्रेन्ड हेर्दा नरेन्द्र मोदीकै पक्षमा लहर देखिएको छ । मतगणना शुरू भएको जम्मा एक घन्टामा भाजपाले रुझानमा २०० सीट कटाइसकेको थियो । 

भाजपाले हिन्दी केन्द्रभूमि अर्थात् उत्तर प्रदेश, बिहार र राजस्थानमा राम्रो प्रदर्शन गरेको देखिएको छ । उसले पूर्व र पश्चिमका राज्यमा पनि राम्रो प्रदर्शन गरेको देखिन्छ । भाजपा अध्यक्ष अमित शाहले भाजपालाई उडिसा र पश्चिम बंगालमा पार्टीको जनाधार बढाउनमा आफ्नो ध्यान केन्द्रित गरेका थिए र उनको मेहनत खेर नगएको देखिन्छ । 

भाजपाले गुजरात, राजस्थान, मध्य प्रदेश, दिल्ली र हरियाणामा प्रभुत्व जमाएको देखिन्छ । उसले पहाडी जिल्लाहरूमा पनि राम्रो प्रदर्शन गरिरहेको छ । अनि कर्नाटक, झारखण्ड र महाराष्ट्रमा पनि उसको प्रदर्शन भव्य छ । 

राहुल गान्धीको नेतृत्वमा रहेको कांग्रेस पार्टीले निकै कमजोर प्रदर्शन गरेको छ । ऊ राजस्थान र मध्य प्रदेशमा संघर्षरत छ जबकि चार महिनाअघि मात्र भएको विधानसभा चुनावमा कांग्रेस विजयी भएको थियो ।

कांग्रेसका लागि पञ्जाब र केरलाले मात्र राहत दिएको छ । केरलामा कांग्रेस नेतृत्वको यूडीएफले थुप्रो सीट ल्याउने देखिएको छ । त्यसै राज्यको वायानाडमा राहुल गान्धी उम्मेदवार बनेकाले पार्टीले राम्रो प्रदर्शन गर्ने अपेक्षा थियो ।

भाजपाविरोधी खेमाका लागि सबभन्दा निराशाजनक प्रदर्शन उत्तर प्रदेशमा रह्यो । त्यहाँ सपा, बसपा र आरएलडीले महागठबन्धनले भाजपालाई कडा टक्कर दिने अपेक्षा गरिएको थियो । उत्तर प्रदेश कब्जा गर्ने दलले देश चलाउँछ भन्ने मान्यता भारतीय राजनीतिमा छ । यूपीमा भाजपाले यसपालि पनि भारी बहुमत ल्याउने लक्षण देखिएको छ । 

एनडीएले बिहारमा पनि बहुमत सीट ल्याउने देखिएको छ । 

तर दक्षिण भारतका क्षेत्रीय दलहरूले चाहिँ भाजपालाई रोकेका छन् । कर्नाटक बाहेक अन्य राज्यमा भाजपाका नेताले पार्टीको जनाधार बढाउने आशा गरेको भए पनि त्यसमा सफल हुन सकेको देखिँदैन । तमिलनाडुमा कांग्रेससँग साझेदारी गरेको डीएमकेले राज्यमा बहुमत सीट जित्ने देखिएको छ भने आन्ध्र प्रदेशमा वाईएसआरसीपी अघि छ । तेलंगानामा टीआरएसले आफ्नो प्रभुत्व कायम राखेको छ । 

सात चरणमा सम्पन्न चुनावमा मोदीले राजनीतिक परिदृश्यमा प्रभुत्व जमाउका छन् । भाजपाले उनको मजबूत तथा निर्णायक नेताको छविलाई नै जोड दिएर प्रचार गरेको थियो । राष्ट्रिय सुरक्षाका विषयमा मोदी जस्तो निर्णायक नेता आवश्यक भएको भाष्य निर्माण गरिएको थियो । कतिपय राज्यमा भने भाजपाले हिन्दू गर्वको पैरवी गरेको थियो र त्यो नै मतदानमा प्रतिबिम्बित भएको देखियो ।

दी इन्डियन एक्सप्रेसमा प्रकाशित लिज म्याथ्युको विश्लेषण

salt training

कमेन्ट गर्नुहोस्