०६ असार २०८३, शनिबार

कोटेश्वरमा ‘पिक एन्ड ड्रप’ निषेध : ट्राफिक जाम घट्यो, यात्रुलाई सास्ती बढ्यो

जेठ ९, २०७६
कोटेश्वरमा ‘पिक एन्ड ड्रप’ निषेध : ट्राफिक जाम घट्यो, यात्रुलाई सास्ती बढ्यो

काठमाडौं – रामेछापका खड्कमान श्रेष्ठ किराना पसलको सामान किन्न काठमाडौं आइरहन्छन् ।

विगतमा सधै कोटेश्वरबाट गाडी चढ्ने श्रेष्ठलाई यसपालि गाडी चढ्न र पसलको सामान राख्न हम्मेहम्मे भयो । उनले दगुर्दै गाडी पछ्याउँदै जडिबुटी गएर मात्रै गाडी पाए ।

सिन्धुपाल्चोकी सोनिया तामाङ छोरी बोकेर कोटेश्वरमा गाडी कुर्दा १ घण्टा बित्यो तर गाडी रोकिएन । उनलाई १ जना ट्राफिक प्रहरीले गाडी रोकिँदैन भनेपछि गाडी पछ्याउँदै जडिबुटी पुगेपछि मात्र गाडी पाइन् ।

हिजोआज कोटेश्वरमा यस्तो दृश्य सामान्य भइसकेको छ । पछिल्लो समय कोटेश्वरमा ‘पिक एन्ड ड्रप’ निषेध गर्ने नियम लागू भएपछि कोटेश्वरबाट भक्तपुर, काभ्रे, रामेछाप लगायत पूर्वतर्फ चल्ने सार्वजनिक यातायातका साधनमा चढ्ने यात्रुलाई सास्ती भएको छ ।

‘जथाभावी पिक एन्ड ड्रप’ निषेध व्यवस्था लागू गर्नु राम्रो कुरा हो तर निश्चित बस स्टप भने तोकिनुपर्छ,’ श्रेष्ठले लोकान्तरलाई भने ।

अर्का यात्रु सोनिया तामाङले भनिन्, ‘हामीलाई सास्ती खै के हो के हो ? ‘पिक एन्ड ड्रप’ निषेधबारे हामीलाई थाहा छैन, गाडी धेरैबेर नरोकिँदा हामीजस्ता बच्चाबच्ची भएका महिलालाई सास्ती भएको छ ।’

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउनको लागि भन्दै ट्राफिक प्रहरीले उपत्यकाका भृकुटीमण्डप, सुन्धारा, कलंकी र कोटेश्वरमा ‘पिक एन्ड ड्रप’ निषेधको व्यवस्था गरेको छ । उल्लेखित ठाउँमा यात्रु ओराल्ने र उकाल्ने गरेमा ट्राफिक प्रहरीले ‘पिक एन्ड ड्रप’ निषेध नियम उल्लंघन गरेबापत सवारीसाधनलाई कारवाही गर्ने गरेको छ ।

जथाभावी ‘पिक एन्ड ड्रप’ निषेध व्यवस्थाले उपत्यकाको ट्राफिक व्यवस्थापनमा भने सहजता आएको छ । ‘हामीले अन्य ट्राफिक लाइट लगायत आधुनिक सामाग्रीहरू प्रयोग गर्ने योजना बनाएका छौं,’ महानगरीय ट्राफिक महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) वसन्तकुमार पन्तले भने ।

विगत ३ महिनादेखि कोटेश्वरमा कार्यरत कुमार यादवले पहिले बिहान ८ बजेदेखि ११ बजेसम्म जाम हुने गरेपनि हाल जाम नहुने बताए । ‘पहिलाजस्तो गाडी त पाइँदैन तर भीडभाड र ठूलो जाममा फस्ने समस्या अहिले देखिँदैन,’ भक्तपुरका रमेश खड्काले भने ।

कोटेश्वरमा सडक विस्तार भएपनि जाम हुने सूचीमा सबैभन्दा अगाडि छ । बिहान बेलुका ‘पिक आवर’मा कोटेश्वर भएर यात्रा गर्ने यात्रुले घण्टौं जाम खेप्दै आएका छन् । विश्वका धेरैजसो देशमा निश्चित ठाउँमा यात्रुलाई चढ्ने र ओराल्ने व्यवस्था गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्