काठमाडौं – लोकसभा चुनावमा भारतीय फिल्म कलाकारहरू प्रायः उठ्ने गरेका छन् । यसपालि केही कलाकारको जीत भयो भने केहीले हारको स्वाद चाख्नुपर्यो ।
सन्नी देवलको जीत
बलिउड अभिनेता सन्नी देवलले पञ्जाबको गुरदासपुरबाट जीत हासिल गरे । भाजपाबाट उठेका सन्नीले कांग्रेसका सुनील कुमार जाखडलाई ७७ हजार १०७ भोटले हराए । यस सीटमा पहिले अभिनेता विनोद खन्ना भाजपाबाट उठ्ने गरेका थिए ।
नुसरत जहाँको जीत
बंगाली चलचित्र अभिनेत्री तथा मोडल नुसरत जहाँले टीएमसीको टिकटमा बशीरहाट सीटमा लडेकी थिइन् । उनले ३ लाख ५० हजार ३६९ भोट ल्याएर विजय प्राप्त गरिन् ।
हेमा मालिनीको जीत
भाजपाकी हेमा मालिनीले अघिल्लोपटक जस्तै मथुरा लोकसभा सीटबाट चुनाव लडिन् । यसपालि उनले राष्ट्रिय लोकदल र गठबन्धन उम्मेदवार नरेन्द्र सिंहलाई २ लाख ९३ हजार ४७१ भोटले हराइन् ।
राज बब्बरको हार
आगराको फतेहपुर सीकरी सीटबाट चुनाव लडेका अभिनेता राज बब्बरलाई भाजपाका राजकुमार चाहरले ४ लाख ९५ हजार ६५ मतले हराए ।
उर्मिला मातोंडकरको हार
कांग्रेस पार्टी प्रवेश गरेकी अभिनेत्री उर्मिला मातोंडकर मुम्बई नर्थ सीटबाट लडेकी थिइन् । भाजपाका गोपाल शेट्टीले उनलाई ४ लाख ६५ हजार २४७ भोटले हराए ।
किरण खेरको जीत
चण्डीगढकी बहालवाला सांसद किरण खेरले भाजपाका तर्फबाट लड्दै कांग्रेसका वरिष्ठ नेता पवन कुमार बंसललाई ४६ हजार ९७० भोटले हराइन् ।
जया प्रदाको हार
भाजपा प्रवेश गरेकी अभिनेत्री जया प्रदा रामपुरमा लडेकी थिइन् । उनका विरुद्ध समाजवादी पार्टीका आजम खान र कांग्रेसका सञ्जय कपूर उठेका थिए । आजमले जयालाई १ लाख ९ हजार ९९७ भोटले हराए ।
मुनमुन सेनको हार
बंगाली अभिनेत्री मुनमुन सेन बंगालको आसनसोल सीटमा टीएमसीका तर्फबाट लडेकी थिइन् । उनलाई भाजपा नेता तथा गायक बाबुल सुप्रियोले दुई लाख भोटले हराए ।
शत्रुघ्न सिन्हाको हार
भाजपाबाट कांग्रेस प्रवेश गरेका अभिनेता शत्रुघ्न सिन्हाले बिहारको पटना साहिब सीटबाट चुनाव लडे । उनलाई भाजपाका रविशंकर प्रसादले तीन लाखभन्दा बढी भोटले हराए ।
प्रकाश राजको हार
दक्षिण भारतीय तथा बलिउड फिल्मका भिलेन प्रकाश राज बेंगलुरु सेन्ट्रल सीटबाट निर्दलीय उम्मेदवारका रूपमा उठेका थिए । उनी ५ लाख ७३ हजार ९४७ भोटले हारे ।
एजेन्सी