
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यले सुनिश्चित रहेको सामाजिक परिवर्तन र समृद्धिको यात्रामा धैर्य, साहस, सुझबुझ रुपमा समाजलाई परिचालित गर्ने चेतनशील र जागरुक समुदाय अग्रसर हुन आवश्यक रहेको बताएकी छन् ।
बुढानीलकण्ठ नगरपालिका–७ हात्तीगौंडामा मानवअधिकारको लागि एकल महिला समूहको नवनिर्मित छहारी भवनको आज उद्घाटन गर्दै उनले यस्तो प्रयासबाट समाज, राष्ट्र र सम्पूर्ण विश्व नै सुसंस्कृत बन्न गई मानव जीवन सुखी र सम्पन्न हुने उल्लेख गरिन् ।
राज्यले अँगालेका महत्वपूर्ण प्रावधानको प्रभावकारी कार्यान्वयनले महिलाको चौतर्फी विकासमा ठूलो योगदान पुग्ने अपेक्षा गरिएको बताउँदै राष्ट्रपति भण्डारीले भनिन्, 'सदियौंदेखि समाजको आधारभूत तहमा जरा गाडेर बसेको गलत सामाजिक तथा सांस्कृतिक मान्यता र परम्परालाई ध्वस्त पार्न अझै ठूलो परिश्रम र मिहेनत गर्नुपर्छ ।'
स्वस्थ्य र सभ्य संस्कृतिको विकास गरी सामाजिक सुसम्बन्धमा आधारित समाज निर्माण गर्ने राज्यको लक्ष्य रहेको बताउँदै उनले मौलिक हकको रूपमा संविधानमै असहाय र एकल महिलाको लागि सामाजिक सुरक्षाको व्यवस्था गरेको छ भनिन् ।
राष्ट्रपति भण्डारीले भनिन्, 'मुलुकमा महिला उत्थान र विकासका लागि सकारात्मक विभेद नीति र कानूनसमेत तर्जुमा भएका छन्, देशमा रहेका सामाजिक र सांस्कृतिक कुरीति, कुसंस्कार र कुप्रथाको अन्त्य गर्ने संवैधानिक संकल्प छ ।'