
काठमाडौं–कोसी नदीको धारलाई भारतीय पक्षले फर्काइदिएपछि सप्तरीको हमुमाननगर–कंकालिनी स्थित गोबरगाडा डुबानमा परेको छ ।
जसका कारण गोबरगाडाका करीब ९५ परिवार प्रभावित बनेका छन् । गोबरगाडाको पूर्वीभागबाट कोसी नदी बग्दै आएकोमा पश्चिमतर्फ फर्काउन भारतले पाइलट च्यानलमा पूर्व सूचनाबिनै पानी छाड्दा पश्चिमतर्फ मोडिएको थियो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले नदीको बहावका कारण करीब ९५ परिवार प्रभावित भएको जनाएको छ । यता हनुमाननगर नगरपालिकाका मेयर शैलेस साहले भारतीय पक्षले पूर्वसूचना बिना पानी छाडिदिँदा समस्या भएको बताए ।
भारतीय पक्षले कोसीको भारततर्फ रहेको तटबन्दलाई मजबुत गरी पानीलाई पश्चिमी तटबन्धसँग टाँसिने गरी पाइलट च्यानल बनाएको बताइएको छ ।
स्थानीयले पूर्वसूचना समेत नदिएर पानी छाडेर भारतीय पक्षले हेपाहा प्रवृत्ति देखाएको भन्दै विरोध गरेका छन् ।