
ब्रेक्जिटले अर्को एक बेलायती प्रधानमन्त्रीलाई ध्वस्त पारेको छ ।
बहुमत बेलायतीहरूले युरोपेली संघबाट बेलायतको बहिर्गमन गराउनका लागि जनादेश दिएको भए पनि त्यसो गर्न नसक्दा प्रधानमन्त्री टेरिजा मेले राजीनामा दिनुपरेको छ ।
‘मैले सकेसम्म राम्रो गरेकी हुँ,’ उनले शुक्रवार राजीनामा दिने क्रममा भावुक हुँदै बताइन् । तर उनी आफैंले ब्रेक्जिटमा पर्याप्त काम गर्न नसकेको स्वीकारिन् ।
मेको कन्जर्भेटिभ पार्टीका नेताहरूको अन्त्य यसैगरी हुने गरेको देखिन्छ । यो दल बेलायतको युरोपेली संघसँगको सम्बन्धका विषयमा वर्षौंदेखि विभाजित थियो । मेअघिका प्रधानमन्त्री डेमिड क्यामरनले ५२ प्रतिशत बेलायतीले युरोपेली संघ छोड्न मत दिएको भोलिपल्ट राजीनामा दिएका थिए । क्यामरनले नै ब्रेक्जिटका लागि जनमतसंग्रहको आह्वान गरेका थिए ।
मेको नेतृत्वमा कन्जर्भेटिभ पार्टी सरकार बनाउने जिम्मेवार दलभन्दा पनि राजनीतिक विदूषक जस्तो देखियो । उक्त दलको सरकारले देश राम्ररी चलाउन सकेन । अनि ब्रेक्जिटलाई पनि राम्ररी सम्हाल्न नसक्दा यति पुरानो पार्टीको बेइज्जती भएको छ ।
मेले आफ्नो ब्रेक्जिट सम्झौतालाई स्वीकृत गरिएमा पदत्याग गर्ने भनेकी थिइन् र अरू कोहीलाई ब्रेक्जिटको दोस्रो चरणको नियन्त्रण दिने भनेकी थिइन् ।
मेको कार्यकाल असफलता, सार्वजनिक बेइज्जती र विनाशकारी राजनीतिक आकलनले भरिएको थियो । केही कुरा उनको नियन्त्रण बाहिर थिए । केही चाहिँ उनका सल्लाहकारहरूको गलत सल्लाहका कारण भएको हो । केही चाहिँ उनको कार्यकालमा आएको अभूतपूर्व राजनीतिक संकटका कारण आएको हो ।
तर उनले आफैं पनि निकै गल्ती गरिन् । उनका धेरै जसो निर्णयहरूले उनको नेतृत्व क्षमतामा नकारात्मक असर पारे । मेको कार्यकालमा बेलायती राजनीति तीन वर्षका लागि गतिरोधमा फस्यो अनि मेले आफ्नो आधिकारिकता आफैं क्षीण बनाइन् ।
उनले आफ्नो भविष्य नरहेको स्वीकार गरिसक्दा सांसदहरू, आफ्नै दलका सदस्यहरू र आफ्नै मन्त्रिपरिषद्को विश्वास गुमाइसकेकी थिइन् ।
डेभिड क्यामरोनको ठाउँमा प्रधानमन्त्री बनेपछि मेले आफूप्रति बफादार मानिसहरूलाई एक्ल्याउन थालिन् । पछि तिनै मानिसको समर्थन उनलाई आवश्यक भयो ।
डेभिड क्यामरोनसँगै ब्रेक्जिटको विपक्षमा भोट दिन आग्रह गर्ने मे प्रधानमन्त्री भएपछि पूर्णतया ब्रेक्जिट पक्षधर बनिन् । उनले ब्रेक्जिटको चर्को पैरवी गर्दा केही समर्थक त जोडिन् तर नरम ब्रेक्जिट चाहने वा ब्रेक्जिट हुनै हुँदैन भन्ने तप्का चाहिँ उनीसँग चिढियो । उनी ब्रेक्जिटको पक्षमा देखिए पनि भित्री मनबाट उनी ब्रेक्जिटीयर हैनन् भन्ने कुरा धेरैलाई थाहा थियो ।
तर मे भ्रमको संसारमा बाँचिरहिन् र उनका सल्लाहकारहरूले पनि उनलाई एकपछि अर्को त्रुटिपूर्ण सल्लाह दिए । सन् २०१७ को जुन महिनामा मेले ब्रेक्जिटमा खासै प्रगति नभए पनि आकस्मिक आमनिर्वाचन गराइन् । कन्जर्भेटिभ पार्टीको बहुमत झनै बढाउने आशाका साथ उनले यसो गरेकी थिइन् । त्यो दाउ सफल भएमा आफू सहज अवस्थामा हुने र आफूले चाहेमुताबिकको ब्रेक्जिट रणनीति अघि बढाउने उनको आशा थियो ।
तर उनको योजना प्रत्युत्पादक ठहरियो । लेबर पार्टीलाई चुनावमा फाइदा भयो । हुन त कन्जर्भेटिभ पार्टी संसद्को सबभन्दा ठूलो दल बन्यो तर मेले बहुमत गुमाइन् ।
नयाँ कार्यकाल शुरू भएको केही समयपछि नै लन्डनस्थित ग्रेनफेल टावरमा आगो लाग्दा ७२ जनाको मृत्यु भयो र एउटा समुदाय नै छिन्नभिन्न भयो ।
आगलागीको घटनामा मेको कदमको चौतर्फी आलोचना भयो । उनी घटनास्थलमा त पुगिन् तर कुनै पनि पीडितलाई भेटिनन् । त्यसले गर्दा उनी सहानुभूतिशील नभएको देखायो । विपक्षी दलका नेता जेरेमी कोर्बीनले पीडितहरूलाई अंगालो हालेको देखियो । यसले लेबर पार्टी सामान्य जनताको पक्षमा रहेको तर मेलाई जनताको मतलबै नभएको देखायो ।
ग्रेनफेल त्रासदीको एक हप्तापछि बेलायतमा एक मुसलमानविरोधी उग्रवादीले लन्डनस्थित फिन्सबरी पार्क मस्जिदमा मुसलमानहरूको भीडमा गाडी लगेर जोते । मेले घटनास्थलको अवलोकन गर्न जाँदा भेला भएका मानिसले उनीविरुद्ध नारा लगाए । देशको राजनीतिक माहोल कमजोर भएको देखियो ।
यतिखेरै ब्रेक्जिट योजना बिग्रिँदै गयो । ब्रसेल्समा युरोपेली संघका अधिकारीहरूसँग बैठकका शृंखला चलेपछि संघका अधिकारी र नेताहरूले सार्वजनिक रूपमै बेलायतका ब्रेक्जिट वार्ताकारहरूको आलोचना गरे ।
कडा ब्रेक्जिटीयरको झूटो छवि बनाएकी मेले युरोपेली संघसँग ब्रेक्जिटसम्बन्धी वार्ता गर्दा नरम दृष्टिकोण अपनाइन् । तर यो उनको अर्को राजनीतिक त्रुटि थियो । ब्रसेल्समा वार्ता राम्रै भए पनि मेको ब्रेक्जिट योजना लन्डनमा चाहिँ रहस्यमयी थियो । बेलायत सरकार र युरोपेली संघका अधिकारीहरूले अस्पष्ट तर महत्त्वपूर्ण विवरणमा सहमति जनाएपनि बेलायती जनता र राजनीतिकर्मीहरूले त्यसलाई स्वीकार गरेनन् ।
ब्रेक्जिटका विषयमा संसद् विभाजित हुँदा मेले ब्रेक्जिट सम्झौता अघि सारिन् जसलाई संसद्ले पटक्कै मन पराएन । त्यसैले त्यसमाथि मतदान गराएपिच्छे त्यसले हार बेहोर्नुपर्यो ।
यसले गर्दा मेलाई लन्डनमा अनि युरोपमा दुवैतिर समस्या आयो । समय बित्दै जाँदा युरोपेली संघका नेताहरूले उनले भनेको सबै कुरा पत्याउन छोडे । अनि ब्रेक्जिट पक्षधरहरूले पनि उनलाई विश्वास गर्न छोडे ।
अनि उनी क्यामरोन मन्त्रिपरिषदमा गृहमन्त्री हुँदा गरेको एक निर्णयले पनि उनलाई सताइरह्यो । विन्डरश विवादको कुरा गरौं । उनी गृहमन्त्री छँदा बनाएको नीतिका कारण आप्रवासीहरूले घरभाडामा लिँदा वा जागिर खाँदा पनि कागजात देखाइरहनुपर्ने भएको थियो ।
यसले गर्दा दोस्रो विश्वयुद्धलगत्तै क्यारिबीयन मुलुकहरूबाट आएका आप्रवासीको एक पुस्तालाई पनि अप्ठ्यारोमा पार्यो । त्यतिखेर बेलायतमा कामदारको अभाव भएकाले ती आप्रवासीहरूबाट काम लिइएको थियो । उनीहरूमध्ये धेरैको कागजात थिएन र उनीहरू सुपूर्दगीको जोखिममा परे जबकि उनीहरू बेलायतमा दशकौंदेखि बसिरहेका थिए ।
यसमा जनताको कडा विरोध उठेपछि मे फेरि एकपटक सहानुभूतिशील देखिइनन् । अनि उनीप्रति बफादार एम्बर रडले पनि यसै घटनापछि गृहमन्त्रीको पदबाट राजीनामा दिनुपर्यो ।
तर उनले ब्रेक्जिटलाई राम्ररी सम्हाल्न नसक्दा अनि एकपछि अर्को खराब राजनीतिक निर्णय लिँदा उनलाई सरकार चलाउन नै धौधौ पर्यो ।
ब्रेक्जिटको टुंगो लगाउने बेला आएपछि उनले आफ्नै मन्त्रिपरिषद्को समर्थन गुमाउन पुगिन् । प्रधानमन्त्रीको लन्डनबाहिरको निवास चेकर्समा बसेको एक बैठकपछि उनले ब्रेक्जिटसम्बन्धी नयाँ नीति अघि सारिन् । त्यसलाई मन नपराएर परराष्ट्रमन्त्री बोरिस जोनसोन र ब्रेक्जिट मन्त्री डेभिड डेभिसले राजीनामा दिए ।
मे समस्यामा परिन् । उनले खाली पदमा भरपर्दो मानिस ल्याउनुपर्ने भयो अनि मन्त्रिपरिषदमा ब्रेक्जिटविरोधी र पक्षधर दुवैको सन्तुलन मिलाउनुपर्यो । कन्जर्भेटिभ पार्टीका महत्त्वपूर्ण नेता डोमिनिक राब ब्रेक्जिट मन्त्री बनाइए ।
त्यसपछि स्थिति अलि शान्त भयो र मेले नोभेम्बर १४ मा युरोपेली संघसँगको सहमति बनेको खबर आयो । बहिर्गमन सहमतिले बेलायत र युरोपेली संघ दुवैलाई मान्य हुने बीचको बाटो अपनायो ।
तर यसको २४ घन्टापछि नै डोमिनिक राबले राजीनामा दिए । अरू पनि निस्किए । मेको आधिकारिकता धराशायी भयो । उनको सम्झौतालाई तल्लो सदनका सबैले घृणा गरे । सम्झौतालाई संसद्को भारी बहुमतले अस्वीकार गरिदियो ।
मार्च महिनाको अन्त्यमा मेले अन्तिम चाल चलिन् । उनले कन्जर्भेटिभ सांसदहरूलाई आफ्नो सम्झौतामा समर्थन गरेमा आफूले पदत्याग गर्ने बताइन् । उनले आफ्नो करीयर नै दाउमा राखिन् ।
तर यसले काम गरेन । मेले राखेको प्रस्तावले पनि उनलाई अन्तिमपटक बेइज्जत हुनबाट रोक्न सकेन । उनकै पार्टीले उनलाई पदत्याग गराउन बाध्य बनायो ।
बेलायती राजनीतिको इतिहासमा मेको जस्तो असफल कार्यकाल कसैको पनि थिएन ।
सीएनएनमा प्रकाशित लुक मक्गीको विश्लेषण