०१ असार २०८३, सोमबार

उपत्यकाका विभिन्न स्थानमा विस्फोट : ‘पहिलेदेखि नै शङ्कास्पद गतिविधि थियो’

जेठ १२, २०७६
उपत्यकाका विभिन्न स्थानमा विस्फोट : ‘पहिलेदेखि नै शङ्कास्पद गतिविधि थियो’

काठमाडौँ घट्टेकुलोको सङ्गम टोल शान्त थियो । यहाँ यस्ता घटना यसअघि भएको थिएन तर आज एक्कासि घटना हुँदा भने स्थानीयवासी चकित भए । पढ्न बसेका शौरभ भट्टराई ठूलो आवाज आउँदा अच्चममा परे ।

“म पढ्दै थिएँ एक्कासि ठूलो आवाज आयो, बाहिर हेर्दा परको घरमा धुवाँ जस्तो देखेँ, हेर्न जाँदा क्षतविक्षत अवस्थामा शव देखियो, एक जना घाइते थिए, घरभित्रको कोठा चर्केको देखेँ”, शौरभले भने। उनका अनुसार मृतकको टाउको एकापट्टि, हात अर्काे पट्टि उछिट्टिएको थियो । खाटलगायत कोठाका सामग्रीमा क्षति पुगेको थियो । भित्तो नै चर्किएको थियो । “एकै छिनपछि प्रहरी आयो र हामी बाहिर निस्कियौँ”, घटनाबारे शौरभले भने । उनले पछिसम्म पनि भित्र बारुद गन्हाइरहेको बताए । 

कोठाभित्रको ग्यास सिलिण्डरमा कुनै क्षति भएको थिएन । विस्फोटपछि घटनामा पुगेका अर्का स्थानीय सागर दाहालले घटनास्थलमा दयनीय अवस्था देखेको बताए । उनीहरुले आफैँ बम बनाउँदै गर्दा पड्केको स्थानीयवासी दाबी गर्छन् । अर्का स्थानीयवासीले भने, “हरेक दिन जसो नै पाँच–सात जना कोठामा आउने–जाने गरेका थिए, उनीहरुका गतिविधि पनि शङ्कास्पद थियो, उनीहरु दुई महीनाअघि मात्रै उक्त घरमा कोठा सरेका हुन् ।” 
 
नेपाली सेनाले पनि दुवै घटनामा सिलिण्डर विस्फोट नभएको देखिएकाले बम डिस्पोजल टोलीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ । काठमाडौँको सुकेधारा र घट्टेकुलो विस्फोटका घटनामा विप्लव समूहको संलग्नता रहेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी कार्यालय काठमाडाँैका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले दुवै ठाउँमा विप्लव समूहले नै विस्फोट गराएको उल्लेख गरे । काठमाडौँको नागढुङ्गा र ललितपुरको लगनखेललगायत विभिन्न क्षेत्रमाा समेत शङ्कास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

मानवीय क्षति भएको दुवै ठाउँमा अनुसन्धानका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली खटिएको छ । सो घटनापछि प्रहरीले काठमाडाँै उपत्यकालगायत देशभर सुरक्षा व्यवस्था कडा पारेको छ । गृह मन्त्रालयमा साँझ बसेको आकस्मिक बैठकमा गृहमन्त्री रामबहादुर थापाले सुरक्षा व्यवस्था कडा पार्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्