
काठमाडौं – अफ्रिकी मुलुक कंगोको पश्चिम भागमा रहेको माइ–न्दोम्बे तालमा एउटा डुंगा डुब्दा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने दर्जनौं अन्य हराइरहेका छन् ।
‘अहिलेसम्म हामीले १२ महिला, ११ बालबालिका र सात पुरुषको शव बरामद गरेका छौं,’ इनोंगो शहरका मेयर साइमन म्बो वेम्बाले बताए । उक्त डुंगामा ३५० जना चढेको र तीमध्ये १८३ जना मात्र बाँचेको उनले जानकारी दिए ।
धेरैजसो अवैध आप्रवासी भएको हुन सक्ने भएकाले यात्रुको यकिन संख्या निर्धारण गर्न नसकिएको उनको भनाइ छ ।
कंगोमा जलाशय यातायात अत्यधिक उपयोग हुन्छ अनि डुंगा दुर्घटना पनि बाक्लै हुने गर्छ । भारक्षमताभन्दा बढी यात्रु र सामान राख्ने गरिएकाले दुर्घटना हुने गरेका छन् ।
त्यसमाथि लाइफ ज्याकेटको उपयोग कमै मात्र गरिने भएकाले पनि मृत्यु संख्या बढ्ने गरेको छ । धेरैजसो कंगोवासीहरूलाई पौडी खेल्न आउँदैन ।
एजेन्सी