१६ असार २०८३, मंगलबार

विश्वकपमा सबभन्दा रोमाञ्चक प्रतिस्पर्धा भारत र पाकिस्तानबीच, ४८ घन्टामा बिके सबै टिकट

विश्वकपमा सबभन्दा रोमाञ्चक प्रतिस्पर्धा भारत र पाकिस्तानबीच, ४८ घन्टामा बिके सबै टिकट

काठमाडौं – क्रिकेट विश्वकप शुरू हुन अब चार दिन मात्र बाँकी छ । प्रतियोगिताका सबै म्याचका सम्बन्धमा दर्शकहरूमा उत्साह छ ।

इंग्ल्यान्ड र वेल्सका ११ मैदानमा ४६ दिनसम्म ४८ खेल खेलिनेछन् । यी ४८ खेलमा दुई सेमिफाइनल र एक फाइनल छ ।

अन्य ४५ खेल लीग म्याच हुन् । तीमध्ये सबभन्दा रोमाञ्चक प्रतिस्पर्धा भारत र पाकिस्तानबीच असार १ गते तथा इंग्ल्यान्ड र अस्ट्रेलियाबीच असार १० गते छन् । 

पुलवामा आक्रमणपछि भारतीय खेलाडीहरूले पाकिस्तानविरुद्धको यो खेल खेल्न अस्वीकार गरेको भए पनि आईसीसीको नियम मान्दै खेल्नुपर्ने भएको छ । खेल म्यानचेस्टरमा हुँदैछ ।

उता इंग्ल्यान्ड र अस्ट्रेलियाबीच लर्ड्समा हुने खेलमा बल ट्याम्परिङ विवादका कारण एक वर्ष प्रतिबन्धमा परेका र अहिले फर्किएका स्टिभ स्मिथ र डेभिड वार्नरका कारण रोमाञ्चक हुनेछ ।

भारत र पाकिस्तानबीचको खेलको लोकप्रियता स्पष्ट पार्न एउटा आँकडा काफी छ । कुल २५ हजार दर्शक क्षमता भएको म्यानचेस्टरमा म्याच हेर्न आईसीसीले ४ लाखभन्दा बढी निवेदन प्राप्त गरेको थियो । अनि ४८ घन्टामा म्याचका सबै टिकट बिके । त्यस्तै इंग्ल्यान्ड र अस्ट्रेलियाबीच हुने खेलका पनि सबै टिकट बिकिसकेका छन् ।

त्यसो त अघिल्लो विश्वकपमा भारत र पाकिस्तानबीचको खेलको सबै टिकट जम्मा १२ मिनेटमा बिकेको थियो । तर यसपालि खेल होला कि नहोला भन्ने असमञ्जसका कारण टिकट बिक्न समय लाग्यो । 

भारत र पाकिस्तानबीच विश्वकपमा ६ वटा खेल भइसकेका छन् । सबै म्याचमा भारतले पाकिस्तानलाई हराएको छ । 

अस्ट्रेलिया र इंग्ल्यान्डबीच विश्वकपमा सात प्रतिस्पर्धा भएका छन् । तीमध्ये पाँचवटामा अस्ट्रेलियाको विजय भएको छ । इंग्ल्यान्डले बाँकी दुई खेल जितेको छ । 

यसपालि इंग्ल्यान्ड बलियो देखिएको छ तर अभ्यास खेलमा उसलाई अस्ट्रेलियाले हराइसकेको छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्