
काठमाडौं – हंगेरीको बुडापेस्टमा रहेको संसद् भवननजिक डानुबे नदीमा एउटा डुंगा पल्टिँदा त्यसमा सवार सात दक्षिण कोरियालीहरूको मृत्यु भएको हंगेरी तथा दक्षिण कोरियाका अधिकारीहरूले जनाएका छन् ।
डुंगामा ६३ जना दक्षिण कोरियालीहरू थिए । उनीहरू चढेको डुंगा अर्को डुंगासँग ठोकिएको दक्षिण कोरियाको परराष्ट्र मन्त्रालयले जनायो । पर्यटकीय डुंगामा दुईजना हंगेरियन कर्मचारीहरू पनि सवार थिए ।
बिहीवार बिहानै नदीको दुई माइल क्षेत्रमा नियमित अन्तरालमा आपतकालीन गाडीहरू तैनाथ राखिएका थिए । बाँचेकाहरूको खोजी जारी छ तर पानी परेर खासै केही नदेखिएकाले उद्धार कार्यमा कठिनाइ आएको छ ।
मे महिनाको आरम्भदेखि भारी वर्षा भइरहँदा नदीको जलस्तर बढेकाले उद्धार कार्य कठिन हुन पुगेको हो ।
‘दुर्घटना स्थानीय समयअनुसार बुधवार राति ९ बजे भएको थियो,’ हंगेरियन एम्बुलेन्स सेवाका प्रमुख कार्यकारी अधिकृत गाबोर सातोले बताए । ‘हामीहरूले १७ एम्बुलेन्स, फायर इन्जिन, प्रहरी र डुंगा प्रयोग गरेर उद्धार कार्यमा ठूलो प्रयास गरिरहेका छौं अनि डानुबे नदीको दुवै किनारमा खोजी गरिरहेका छौं ।’
डानुबे नदीको धार तीव्र भएकाले केही मानिस कैयौं माइल टाढा निकै तल फेला परेको उनले बताए । बाँचेकाहरूलाई चिसोको उपचार गराइएको उनको भनाइ छ ।
द गार्डियनबाट