२७ असार २०८३, शनिबार

सरकारको नेतृत्व परिवर्तन गर्ने सहमति उल्लंघन भए पार्टी एकता बिथोलिन्छ : वामदेव गौतम

सरकारको नेतृत्व परिवर्तन गर्ने सहमति उल्लंघन भए पार्टी एकता बिथोलिन्छ : वामदेव गौतम
फाइल तश्वीर

प्युठान – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रभावशाली नेता वामदेव गौतमले सरकारको नेतृत्व परिवर्तन गर्ने सहमति उल्लंघन गरिए पार्टी एकताको प्रक्रिया बिथोलिने बताएका छन् । पार्टी एकताको समयमा भएको सहमति कार्यान्वयन गर्नुपर्नेमा उनको जोड छ ।

प्रेस संगठन प्युठानले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सचिवालय सदस्य गौतमले सहमति उल्लंघन गर्दा पार्टी एकता नै बिथोलिन सक्ने भन्दै सहमति कार्यान्वयन गर्नुपर्ने बताएका हुन् । 

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्राइम टेलिभिजनसँगको अन्तर्वार्तामा पार्टी एकताको समयमा भएको सहमति अनुसार आलोपालो सरकारको नेतृत्व गर्ने सहमति कार्यान्वयन हुने विश्वास व्यक्त गरेका थिए ।

प्रचण्डको अभिव्यक्तिले नेकपामा तरंग ल्याएको बेला नेता गौतमले पार्टी एकताको काम पूरा गर्न भएका सहमति कार्यान्वयन गर्नुपर्ने बताएका हुन् ।

बजेट जनपक्षीय

नेता गौतमले सरकारले बुधवार संसद् पेश गरेको बजेट जनपक्षीय भएको बताए । वृद्धभत्ता वृद्धि लगायत जनपक्षीय बजेटका कारण सरकारको प्रशंसा भइरहेको गौतमले बजेट कार्यान्वयन हुने विश्वास व्यक्त गरे । 

गत वर्षको बजेट चुनावी घोषणा पत्रअनुसार नभएको भन्दै विरोध गरेका गौतमले यसपटकको बजेटको बचाउ गरे । 

नेता गौतमले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई असल प्रतिपक्षको भूमिका निर्वाह गर्न सुझाव दिए ।

पत्रकार सम्मेलनमा नेकपा स्थायी समिति सदस्य मणि थापा पनि उपस्थित थिए ।

salt training

कमेन्ट गर्नुहोस्