
काठमाडौं – नेपालमाथि 'नाकाबन्दी डिजाइनर'को भूमिका खेलेका एस जयशंकर भारतको विदेशमन्त्रीमा नियुक्त भएका छन् ।
भारतको विदेश मन्त्रालयको वेवसाइटमा जयशंकरलाई विदेश मन्त्रीको रूपमा जिम्मेवारी दिइएको उल्लेख छ ।
जयशंकरलाई भारतको आक्रामक कूटनीतिका योजनाकार मानिन्छ । उनलाई आफ्नै बाबु के सुब्रमण्यमबाटै विरासतमा कूटनीतिक महारथ प्राप्त भएको हो ।
जयशंकरका बाबु भारतका विख्यात रणनीतिक विश्लेषक मानिन्छन् । दिल्लीको चर्चीत सेन्ट स्टिफन कलेजमा अध्ययन गरेका जयशंकरले राजनीतिमा एमफिल गरेका छन् ।
उनी परमाणु कूटनीतिका जानकार समेत हुन् ।
विदेश विभागमा प्रवेश गरेपछि जयशंकरले सबभन्दा पहिला रूसस्थति भारतीय दूतावासमा जागिर खान गए ।
त्यसपछि अमेरिकास्थित भारतीय दूतावासमा प्रथम सचिव रहेका जयशंकरसँग श्रीलंकामा भारतीय सेनाको राजनीतिक सल्लाहकारका रूपमा समेत काम गरेको अनुभव छ । त्यसपछि उनी जापान र चेक रिपब्लिकका लागि भारतको राजदूतका रूपमा काम गरेका थिए भने एक वर्षअघि भुटानको दोक्लाममा देखिएको भारत-चीन विवादलाई मत्थर पार्न महत्त्वपूर्ण भूमिका जयशंकरले नै खेलेका थिए ।
भनिन्छ, भारतीय लोकसभा निर्वाचनको पूर्वसन्ध्यामा पाकिस्तानको बालाकोटमा भारतले गरेको 'सर्जिकल स्ट्राइक'का डिजाइनर पनि जयशंकर नै थिए ।
समग्रमा दक्षिण एसियाली कूटनीतिमा भारतलाई आक्रामक रूपमा प्रस्तुत गर्ने भूमिका जयशंकरको छ ।