
काठमाडौँ । स्वास्थ्यकर्मीले बच्चा जन्मने अनुमानित दिन तोकेभन्दा तीन हप्ता पहिल्यै पानी बग्न थाल्यो, लगातार नौ दिनसम्म यो क्रम चलेपछि विकट गाउँ, उपचार छैन, मर्छु झैं लागेको थियो, हेलिकोप्टरले उद्धार गरेकाले नयाँ जीवन पाएँ ।
गोरखा जिल्ला चुमनुब्री गाउँपालिका–७ लार निवासी छिरिङ पाल्मो लामाको कथा व्यथा हो यो । अहिले राजधानीको एक अस्पतालमा उपचार गराई काठमाडौँमै आराम गरिरहनुभएकी लामा आफू र आफ्नो सन्तान बाँचेकोमा दङ्ग हुनुहुन्छ ।
समय नपुग्दैको व्यथाले ज्यान लिने त होइन भनी चिन्ताले पिरोलिइरहेको बेला उद्धार पाएकोमा सपनाबाट ब्युँझेझैं भएको अनुभूति लामा सुनाउनुहुन्छ ।
राजधानी आउन गोरखाको लारबाट तीन दिन पैदल हिँडेर आरुघाट आउनुपर्छ, त्यहाँबाट बसमा राजधानी आउनुपर्ने वाध्यता छ ।शुक्रबार २२ वर्षीया लामाले भावुक हुँदै मसिनो स्वरमा भन्नुभयोे,‘सुत्केरी हुने दिन नजिक आउँदै गर्दा के होला, कसो होला भन्ने कुरा हरेक साँझ मनमा खेलाउँदै सुत्थेँ । नानी पाउने बेला असाध्यै गाह्रो हुन्छ, लुगाफाटा, मासुका लागि कुखुराको जोहो पनि गर्दै गर है भन्ने सुझाव दिन्थे छिमेकीहरू । श्रीमान घरमै भएकाले ती कुराको त्यत्ति चिन्ता थिएन । पहिलो पटक म आमा बन्दै थिएँ । केही खुसी र धेरै डर मनमा लिएर साँझ खाना खाएर सुतेँ तर सधैंझैं त्यो रात मेरा लागि सामान्य रहेन ।’
निद्रामै बेस्सरी पेट दुख्यो । सुत्केरी हुने व्यथा लागेछ क्यारे भन्ठानेँ । तर निरन्तर पानी बग्न थाल्यो । घर परिवार सबैले उज्यालो हुँदासम्म बच्चा नभए नजिकको स्वास्थ्य चौकी लैजाने कुरा गरे । त्यो रात काट्न मलाई ज्यादै सकस भयो । मलाई डो¥याउँदै घर नजिकको छेकम्पार बर्थिङ सेन्टर एन्ड आउट रिच क्लिनिक पु¥याए ।
त्यहाँ मैले गर्भवती जाँच गराउँथे । क्लिनिकमा कार्यरत एचए हेमखामा राईले औषधि दिनुभयो । तर पानी रोकिएन, सुत्केरी व्यथा पनि लागेन । हप्ता दिनसम्मै पानी मात्र बग्ने तर सुत्केरी व्यथा नलागेको र बच्चाको धड्कन पनि नसुनेपछि एचए।राईले चुमनुब्री गाउँपालिकालाई जटिल अवस्थाबारे जानकारी दिँदै सुविधा सम्पन्न अस्पतालमा लैजानुपर्ने सुझाव दिनुभयोे ।
गोरखा जिल्लाको चुमनुब्री गाउँपालिकाका अध्यक्ष पासाङ फुन्जो लामाले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम शाखा प्रमुख अन्जु ढुङ्गानासँग सम्पर्क गरेपछि लामाको हवाई उद्धार सम्भव भएको हो । गोरखापत्र दैनिकमा खबर छापिएको छ ।