काठमाडौं – विश्वकपमा निराशाजनक शुरूआत गर्ने दक्षिण अफ्रिकाको टोली आइतवार दोस्रो म्याचमा बंगलादेशसँग भिड्दैछ ।
प्रतियोगितामा बंगलादेशको यो पहिलो म्याच हो ।
दक्षिण अफ्रिकालाई बिहीवार इंग्ल्यान्डले ४० औं ओभरमा २०७ रनमा अलआउट गरेर १०४ रनले हराएको थियो ।
बंगलादेशले विश्वकपअघि आयरल्यान्ड र वेस्ट इन्डीज समेत रहेको त्रिकोणीय एकदिवसीय शृंखला जितेको थियो । तर भारतसँगको अभ्यास खेलमा उसका बलरहरूले ३५० भन्दा बढी रन लुटाएका थिए ।
कागजमा त दक्षिण अफ्रिकाको टीम बंगलादेशभन्दा बलियो छ र फाफ डुप्लेसी र अन्य दक्षिण अफ्रिकाली खेलाडीहरूले १२ वर्षअघि सन् २००७ मा बंगलादेशबाट चाखेको पराजय भुल्ने छैनन् ।
पहिलो म्याच हारेको दक्षिण अफ्रिकाले जीतको खाता खोल्न त्यति सहज छैन । इंग्ल्यान्डको जस्तो धारिलो बलिङ आक्रमण बंगलादेशको नभएपनि उनीहरूलाई हलुका रूपमा लिँदा समस्यामा पर्न सक्छ दक्षिण अफ्रिकी टोली ।
दक्षिण अफ्रिकी ब्याट्स्म्यानहरू इंग्ल्यान्डका बलर जोफ्रा आर्चरको गतिविरुद्ध खेल्न सकेनन् । वरिष्ठ ब्याट्स्म्यानहरू हाशिम अमलाले १३, फाफले ५ र जेपी डुमिनी ८ रनमा आउट भएका थिए ।
क्विन्टन डीकक र पहिलो विश्वकप खेलिरहेका डुसेनले ५० रन नहानेको भए दक्षिण अफ्रिका अझै ठूलो अन्तरले हार्ने थियो ।
त्यसो त दक्षिण अफ्रिकी बलरहरूको प्रदर्शन पनि इंग्ल्यान्डविरुद्ध प्रभावशाली रहेन किनकि इंग्ल्यान्डले ३११ रन बनायो ।
उता भारतविरुद्धको अभ्यास म्याचमा मंगलवार बंगलादेशका कप्तान मशरफी मुर्तजाको मांसपेशी बाउँडिएको थियो । तर उनी टीमको नेतृत्व गर्दै पहिलो खेल खेल्नेछन् । तमीम इकबाल पनि घाइते छन् तर दक्षिण अफ्रिकाविरुद्धको खेलमा फिट हुने सम्भावना छ ।
अभ्यास खेलमा मुतफिजुर रहमान र मुर्तजाले नयाँ बलले कसिकसाउ बलिङ गर्दै भारतीय ब्याट्स्म्यानहरूलाई शुरूमा अत्याएका थिए ।
बीचमा बंगलादेशका बलरहरूको लाइन र लेन्थ बिग्रेको थियो र त्यसको फाइदा उठाउँदै लोकेश राहुल र महेन्द्र सिंह धोनीले शतक जमाएका थिए । बंगलादेशी बलरहरूले यो गल्ती दोहोर्याउन हुँदैन ।
दक्षिण अफ्रिका अहिले वरीयतामा तेस्रो स्थानमा छ भने बंगलादेश सातौं स्थानमा छ ।
उनीहरूले कुल २० म्याच खेलेकोमा दक्षिण अफ्रिका १७ मा विजयी भएको छ भने बंगलादेशले तीनवटा खेल जितेको थियो ।
एजेन्सी