२३ जेठ २०८३, शनिबार

निर्धारित पोशाकमा नआउने कर्मचारीले हाजिर गर्न नपाउने

निर्धारित पोशाकमा नआउने कर्मचारीले हाजिर गर्न नपाउने

तनहुँ- तनहुँको भानु नगरपालिकाले कार्यालय समयमा निर्धारित पोशाकमा नआउने कर्मचारीलाई हाजिर गर्न रोक लगाएको छ । कर्मचारीको एकरूपता, अनुशासन, जिम्मेवारी र बफादारी बनाउन पोशाकमा कडाइ गरिएको नगरपालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डेले जानकारी दिए । 

'हाजिर गर्न नपाएको दिनको तलब नै कट्टा गरिने व्यवस्था गरिएको छ,' उनले भने, 'कर्मचारी कार्यालयमा बिहान १० बजेभित्र आउने गरी विद्युतीय हाजिरको व्यवस्था समेत गरिएको छ ।'

नगरपालिका मातहतका सबै कार्यालयमा कार्यरत कर्मचारीका लागि अभियानको रूपमा लैजाने योजना भए पनि शुरुमा नगरपालिकाका कर्मचारीमा यो नियम लागू गरिएको वरिष्ठ अधिकृत पाण्डेले बताए । कार्यक्षेत्रमा रहेका प्राविधिक र परियोजनामा कार्यरत कर्मचारीको हकमा भने यो नियम हालको लागि लागू नगरिएको नगरपालिकाले जनाएको छ । 

उक्त नगरपालिकाले आगामी असार १ गतेदेखि लागू हुने गरी कर्मचारीले भानुको बिर्खे टोपी लगाएर कार्यालयमा आउने व्यवस्था मिलाएको छ । नेपाली भाषा साहित्यका धरोहर भानुभक्त आचार्यको नाउँबाटै भानु नगरपालिका राखिएकाले भानुको बिर्खे टोपीलाई प्राथामिकतामा राखिएको हो । उक्त कार्यालयमा करीब एक सयको हाराहारीमा कर्मचारी कार्यरत छन् । 

कार्यालयले नियममा कडाइ गरिएपछि कर्मचारी सचेत हुन थालेको नगर प्रमुख उदयराज गौलीले बताए । शुरूआत आफैंबाट गर्नुपर्छ भन्ने मान्यताका साथ अहिले नगरपालिकामा यस अभियान थालिए पनि आगमी दिनमा नगरपालिका मातहतका सबै कार्यालयमा लैजाने लक्ष्य रहेको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्